तुलसीपुरका कुमार बिकको खुट्टा छिनाल्ने दुई युवा प्रहरी नियन्त्रणमा

१३ कात्तिक ७७, शुक्रबार

१४ कात्तिक, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका – ११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खुट्टा छिनाल्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी तुलसीपुर-१० पढ्ढाका २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई सार्वजनिक गरेको हो।

कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहले उनीहरू दुबै जनाले बिकको खुट्टा आफूहरूले खुर्पाले हानेर छिनालेको स्वीकारेको बताए।

Advertisement

पक्राउ परेका अमृत र पवन ज्वाइँ-जेठान हुन्। दशैंका दिन पवन माइती आएका थिए। दशैं मनाउन भन्दै ज्वाइँ-जेठानसहित गाउँका ७‍-८ जनाले रक्सी खाए।

त्यहीबेला तुलसीपुर-१० गौलौरीमा चौधरीहरूले झगडा गरे। हानाहान र कुटाकुट भयो। गौलौरीका दुर्गा चौधरी र विजय चौधरीलगायत दुबै पक्षका मानिस घाइते भए। त्यसपछि दुर्गाका कान्छा छोरा सञ्जिव चौधरीले पढ्ढाका अमृत चौधरीलाई फोन गरेर गुहार मागे। दुर्गा र अमृत मामा-भाञ्जा हुन्।

Advertisement

अढ्ढामा सँगै रक्सी खाइरहेका अरू घरघर गए। मदिराले मातेका अमृत र पवन घरबाट खुर्पा लिएर निस्किए। गौलौरी गाउँतिर लागे।

बाटोमा कुमार बिक भेटिए। उनी तुलसीपुर-१२ टरिगाउँस्थित भान्जाको घरबाट बिहेभोज खाएर आउँदै थिए।

अमृत र पवनले बिकलाई सोधपुछ गरे। बिकले भान्जाको बिहे खाएर आएको भने।

भोजमा गएका बिकले पनि रक्सी खाएका थिए। उनीहरूले फेरि झगडा गरेर आइस् भनेर सोधे। बिकले पनि सामान्य झगडा भएको र त्यस्तो केही नभएको तथा आफू घर जान लागेको जवाफ दिए। खासमा बिक पनि भान्जाको घरबाट भनाभन गरी घर जान्छु भनेर हिँडेका थिए।

त्यो कुरापछि चौधरीद्वयले बिक पनि झगडामा सामेल भएको ठहर गरे। अनाहकमा उनीमाथि निर्मम तरिकाले आक्रमण भयो।

आक्रमणपछि बिकको बाँया खुट्टाको गोलीगाँठा भन्दा माथिबाट च्याट्टै छिनालिदिए। दुबै हात र ढाडमा समेत गहिरो घाउ लाग्ने गरी आक्रमण गरे।

सूचना पाएलगत्तै प्रहरी गएर उद्धार गरी बिकलाई अस्पताल पु¥यायो। प्रहरीले छिनालिएको बिकको खुट्टा बाल्टिनमा राखेर लगेको थियो। अत्याधिक रक्तस्राव भइसकेको हुँदा रातारात प्रहरीकै सक्रियतामा रगतको जोहो भयो। रगत दिँदै बिकलाई बाँके पु¥याइयो। अहिल‍े उनको लखनउमा उपचार भइरहेको छ।

बिकको खुट्टा छिनालेको घटना सार्वजनिक भएपछि प्रहरीलाई तीव्र दबाबमा परेको थियो । प्रहरीले झगडिया दुबै पक्षका मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो। डिएसपी सिंहका अनुसार यो बीचमा प्रहरीले ८८ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान ग¥यो। कुनै सुराक मिलेन। बिकले फोनसमेत प्रयोग नगर्ने हुँदा अभियुक्त पत्ता लगाउन समस्या थियो।

प्रहरीले पक्राउ परेका ८८ जनाको कल डिटेल खोज्यो। त्यही बीचमा घाइते बिकले एउटा सुराक दिए – आफूलाई हान्नेहरू चौधरी नै भएको र त्यसमध्येका एक जनाले रातो कपडा लगाएका थिए। प्रहरीले त्यसलाई पनि आधार बनाएर अनुसन्धान अगाडि बढायो। त्यतिले मात्रै नपुगेर प्रहरी घर–घरमै पुगेर अनुसन्धानमा खटियो। कतै न कतै रगत वा कुनै पनि सुराक फेला पर्छ कि भनेर त्यसरी आफूहरूले अनुसन्धान गरेको डिएसपी सिंहले बताए।

दशैंको समय भएकोले चौधरीले पनि कुखुरालगायतको बली दिने हुँदा घर-घरमा रगत थियो। त्यसपछि प्रहरीले घरभित्र पसेर अनुसन्धान गर्ने र लत्ता कपडामा ध्यान दिने निर्णय ग¥यो।

पढ्ढाका अमृत चौधरीको घर अनुसन्धानका क्रममा प्रहरीले लत्ता कपडामा ध्यान दियो। अमृतले लगाउने जुत्तामा रगत देखियो। प्रहरीले त्यही जुत्ताको आधारमा अनुसन्धान अगाडि बढायो।

अमृतबारे सोधिखोजी ग¥यो। अमृत घरमा थिएनन्। अनि रगत लागेको रातो टिर्सट पनि फेला प¥यो। उनका ज्वाइँ कुररियाका २२ वर्षीय पवन चौधरी पनि त्यहाँ थिएनन्। दुबै फरार थिए।

प्रहरीले पढ्ढामै लुकेर बसेका दुबै जनालाई बिहीबार बेलुका नियन्त्रणमा लियो। त्यसपछि बिकको खुट्टा छिनाल्नेहरूको पहिचान भयो।

जुत्तामा लागेको रगतको आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको डिएसपी सिंहले सेतोपाटीलाई बताए।

गौलौरीमा चौधरी समुदायबीच भएको झगडामा सामेल नभएका निर्दोष बिक चौधरीद्वयको आवेश र उत्तेजनाको शिकार भएको प्रहरीले बताएको छ। दुबै पक्षले अत्याधिक मदिरा सेवन गरेको हुँदा पनि घटना भएको प्रहरीको अनुमान छ।

बिकको खुट्टा छिनाल्ने दुबै जनाविरूद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top