२९ कात्तिक, विराटनगर । यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजासहित लक्ष्मी पूजा गरिँदैछ । आज बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।
अपराह्न १ बजेर ४९ मिनेटसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको हो ।
सबै नेपालीका घर आगनमा आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ पनि छ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।
त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने कामपनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।
यसैबीच आज बेलुकी लक्ष्मी पूजा गरिँदै छ । अपरान्हबाट औँशी तिथि लाग्ने भएकाले आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा पर्व मनाइँदैछ ।आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ ।
यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शयया बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।आजको रात्रिलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ ।
