४ मंसिर, काठमाडौं ।
विहीबार उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने भएको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा नै हुनेछ । मौसमलाई प्रभाव पार्ने खालको कुनै पनि प्रणाली विकास नभएकाले आज र भोलि मौसम बद्ली हुने सम्भावना छैन ।
बिहान बेलुका तराईका भू–भागमा हल्का कुहिरो लागेपनि दिउँसो घाम लाग्नेछ । मौसम सफा हुने भए पनि हावाको तापक्रम भने घट्ने भएकाले चिसो बढ्न सक्ने पनि महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
