निर्माणाधीन गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राख्ने तयारी

१२ मंसिर, काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ ।

Advertisement

ऊर्जा, जलश्रोत तथा सिंचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो ।

आज ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक हप्ताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरुलाई बुझाउन निर्देशन दिएको छ ।

Advertisement

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।

एडीबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया यसअघि बढेको छ । जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ ।

Advertisement

ती योजनामा एडीबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो । सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा दिनेछ ।

निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ । प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ ।

बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि आवश्यक रहेको उल्लेख गरे । उनले एक हप्ताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिए । यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रिय रुपमै राम्रो सन्देश जाने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top