Nepal Times
Nepal Times
3
Shares

उत्तर कोरियासँगको शिखर बैठक सर्न सक्छ– राष्ट्रपति ट्रम्प

उत्तर कोरियासँगको शिखर बैठक  सर्न सक्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, ९ जेठ ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । 

उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गरेका हुन् । उनले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिएका हुन् ।

उनले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेको र नगरेमा उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले तर यसको मतलब बैठक नै नबस्ने भने होइन भने । उनले उत्तर कोरियाले आवश्यक शर्तहरु पूरा गर्नुपर्नेमा जोड दिएको प्राप्त समाचारमा जनाइएको छ ।

तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ । सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण पनि वार्तामा नबस्ने चेतावनी दिएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको अमेरिका भ्रमणमा गएका छन् । सोही क्रममा मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्प र इनबीच भएको भेटवार्तापछि ह्वाइट हाउसमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले सो प्रतिक्रिया दिएका हुन् ।

उनले भने– मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिन, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गम्भीर नै हुनुहुन्छ । तर पनि केही शर्तहरु छन् जुन वार्ता अगावै पूरा हुनुपर्छ ।

आगामी उक्त शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउने विषयमा छलफल गर्न राष्ट्रपति इन वासिङ्टनमा छन्। उनी मङ्गलबार नै अमेरिका पुगेका हुन् ।

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति इनका अतिरिक्त यसअघि पनि केही उच्चस्तरीय अधिकारीहरु वासिङ्टन पुगेका हुन् ।

दक्षिण कोरियाली राष्ट्रपति इन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तय गर्ने पनि ठानिएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा केही विलम्ब भए पनि वार्ता भने हुने दाबी गरे । तर पनि पछिल्लो समयमा वार्तामा नबस्ने भनी उत्तर कोरियाबाट आएको प्रतिक्रियाको बारेमा भने आफू आश्चर्यमा परेको बताएका हुन् ।

तर राष्ट्रपति ट्रम्पले जुन १२ मा भएन भने सो बैठक कहिले हुन्छ त भन्ने बारेमा भने केही बताएनन् । उनले आगामी केही समयमा त्यसबारेमा मिति तय हुने बताए ।

रासस

 

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.