५ मंसिर , काठमाण्डौ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा ठूलो पहिरो जाँदा नेपाली बजारमा पनि पछिल्ला दिनहरुमा लगातार गिरावट आइरहेको छ । शुक्रबारमात्रै सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँले घट्यो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो सात दिनको अवधिमा मात्रै नेपाली बजारमा सुनको मूल्य तोलामा २६ हजार ३ सय रुपैयाँले सस्तिएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आठ महिनायताकै सबैभन्दा खराब साप्ताहिक गिरावटतर्फ उन्मुख भएको थियो । शुक्रबार तत्काल कारोबार हुने स्पट गोल्ड १.९ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ५ सय ५१ दशमलव ६८ डलरमा झरेको छ, जुन सन् २०२५ को सेप्टेम्बर यताकै न्यून विन्दु हो ।

यो साता मात्रै अन्तर्राष्ट्रिय बजारमा सुन करिब ८.९ प्रतिशतले ओरालो लागेको छ, जुन गत मार्च २० को साता यताकै सबैभन्दा तीव्र साप्ताहिक गिरावट हो । त्यसैगरी, डिसेम्बर डेलिभरीका लागि अमेरिकी गोल्ड फ्युचर्स पनि ३.६ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ५ सय ५१ दशमलव ९० डलर कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र अन्य बहुमूल्य धातुहरूको मूल्यमा यति ठूलो गिरावट आउनुमा अमेरिकी डलरको मजबुती, आगामी डिसेम्बरमा अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाउने बलियो अनुमान र वित्तीय बजारमा सिर्जना भएको ‘फियर फ्याक्टर’ (डरको कारक) मुख्य जिम्मेवार मानिएको छ ।
विशेषगरी उदीयमान बजार (इएम) का मुद्राहरूको तुलनामा डलर अस्वाभाविक रूपमा ह्वात्तै उक्लिनुले बजारमा ‘डिलेभरेजिङ’ को लहर सुरु हुन लागेको संकेत गरेको विश्लेषकहरू बताउँछन् । लगानीकर्ताहरूले आफ्नो ऋण वा सापटी घटाउन हतारमा सुनजस्ता सम्पत्ति बेचेर सुरक्षित नगद अर्थात् डलर जोहो गर्न थाल्दा सुनको मूल्यमा एक्कासि भारी दबाब परेको हो ।
विश्लेषकहरूका अनुसार अमेरिकी केन्द्रीय बैंक (फेड) को गलत निर्णयमा आधारित ब्याजदर वृद्धि चक्र र त्यसभित्रको आन्तरिक विवादले अमेरिकी अर्थतन्त्रलाई नै बन्धक बनाएको छ । मध्यावधि चुनावपछि फेडको कडा नीति नरम हुने अपेक्षा गरिए पनि उल्टै त्यहाँ वार्शविरुद्ध पूर्ण विद्रोह देखिएको छ ।
यस अवस्थाबाट निस्कन अब वार्शले जर्मन भाषामा भनिने ‘माख्टवोर्ट’ अर्थात् नेतृत्वको कडा निर्णय लिँदै ‘फरवार्ड गाइडेन्स’ नदिने आफ्नो अडान त्यागेर स्पष्ट नीति सार्वजनिक गर्नुपर्ने अवस्था आएको अर्थशास्त्रीहरूको भनाइ छ ।
गत साता सीपीआई (महँगी) तथ्यांक आउनुअघि फेडका अधिकारी वालरले ५० बेसिस पोइन्ट्ससम्म ब्याजदर बढाउने कुरा गर्न थालेदेखि नै बजारमा डरको वातावरण झन् गहिरिएको हो । यता कच्चा तेलको मूल्यमा आएको गिरावटले सुनको भाउलाई झन् जटिल मोडमा पु¥याएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ९० डलरको तल्लो बिन्दुतिर स्थिर भएसँगै यसले सुनलाई माथि उचाल्ने सकारात्मक प्रभाव अब समाप्त भइसकेको छ । अर्कोतर्फ, तेल सस्तिँदा अमेरिकी १०– र ३०–वर्षीय वास्तविक ट्रेजरी यिल्ड (वास्तविक ब्याजदर) दुई दशकभन्दा बढी समययताकै उच्चतम स्तरमा पुगेको छ ।
विश्लेषकहरूले ५–दिने मुभिङ एभरेज र रिग्रेसन विधिका आधारमा सुन, २–वर्षीय वास्तविक ट्रेजरी यिल्ड, ब्रेन्ट तेल र अमेरिकी सेयर बजारका सूचकांक एस एन्ड पी ५०० तथा अस्थिरता मापन गर्ने भिक्स सूचकांकको संयुक्त प्रभाव अध्ययन गर्दा वास्तविक ब्याजदरको दबाब सामान्य मात्रै देखिएको तर ‘फियर फ्याक्टर’ ले नै सुनलाई मुख्य रूपमा तल तानेको निष्कर्ष निकालेका छन्।
त्यस्तै, २६ वटा जी–१० र उदीयमान देशहरू समेटिएको डलर सूचकांक, तामा, तेल र सुनको मूल्यमा देखिएको अस्वाभाविक उतारचढावले पनि बजारमा प्रणालीगत समस्या आउन थालेको संकेत गरेको छ । हालका दिनमा वास्तविक ब्याजदर र तेलको मूल्य स्थिर रहे पनि डलर, सुन र तामामा गैर–रेखीय चाल देखिनुलाई विश्लेषकहरूले बजारमा ‘केही बिग्रँदै गएको’ अर्थात् डिलेभरेजिङ सुरु भएको लक्षण मानेका छन् ।
इरानसँगको युद्ध फेब्रुअरी २७ मा सुरु भएयता अप्रिल १३ को नाकाबन्दी घोषणा, जुन १७ को एमओयू र नाकाबन्दी फुकुवा, जुलाई १४ मा पुनः नाकाबन्दी तथा सेप्टेम्बर १० मा साउदी इस्ट–वेस्ट पाइपलाइनमा भएको आक्रमणजस्ता घटनाक्रमले बजारलाई पहिलेदेखि नै संवेदनशील बनाएको थियो ।
यदि इरानसँग पुनः प्रत्यक्ष युद्ध सुरु भएमा डिलेभरेजिङको चक्र अझै अप्रत्याशित बन्न सक्ने चेतावनी दिइएको छ। अनियन्त्रित वित्तीय नीतिका कारण मुद्रा अवमूल्यनविरुद्ध (डिबेसमेन्ट ट्रेड) सुनमा लगानी गर्नेहरूका लागि यो डरको कारक र डिलेभरेजिङ अल्पकालीन अवरोध मात्र भएको विश्लेषकहरूको ठम्याइ छ ।
वास्तविक ब्याजदर अत्यधिक उच्च भइसकेकाले फेडले चर्चा गरेजति सबै ब्याजदर वृद्धि गर्न असम्भव रहेको र उसको कडा नीति आफ्नै लागि आत्मघाती बन्ने तर्क उनीहरूले गरेका छन् । यद्यपि, डिलेभरेजिङ पूर्ण रूपमा सुरु भइसकेको भन्न अझै चाँडो हुने भए पनि फेडको नीतिका कारण बजारमा कुनै ठूलो ‘दुर्घटना’ निम्तिन सक्ने भएकाले यो समयमा लगानीकर्ताहरू निकै चनाखो भएर निगरानी राख्नुपर्ने विश्लेषण गरिएको छ ।
अहिले बजार निकै संवेदनशील मोडमा छ र फेडको नीतिका कारण बजारमा कुनै ‘दुर्घटना’ निम्तिन सक्ने जोखिम पनि छ । त्यसैले तत्कालका लागि सुनको भाउमा केही थप गिरावट वा तीव्र उतारचढाव आउन सक्ने भए पनि लामो समयसम्म यस्तै भारी गिरावट निरन्तर रहने सम्भावना कम देखिन्छ ।



