बालेनलाई एयरपोर्टमा राज्यमन्त्रीले स्वागत गर्ने, मोदीसँग सवा एक घण्टा वार्ता

५ मंसिर २०८३, शनिबार
Share this
655shares

५ मंसिर , काठमाण्डौ ।

Advertisement

प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजीकय भ्रमणका लागि भोलि मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्दैछन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा उनलाई त्यहाँ भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन् ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि भारतको राजकीय भ्रमणमा जान लागेका हुन् ।

Advertisement

गत चैत १३ गत प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन् ।  परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री शाह दिल्ली पुगेपछि पहिलो भेट भारतका विदेशमन्त्री एस जयशंकरसँग हुने तय भएको छ ।

शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताए ।

‘भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन, मानव संशाधन विकास जस्ता विषयहरू समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्,’ राईले भने, ‘यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ।’

नेपालका लागि भारत ठूलो र महत्वपूर्ण विकास साझेदार रहेकाले दुवै देशका नेतृत्वबीच विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरू अपरिहार्य हुन्छन्,’ परराष्ट्र सचिव राईले भने, ‘हाम्रा दुई देशबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहिआएको छ। आसन्न भ्रमणले नेपाल र भारतबिचको मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्नसमेत महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।’

प्रधानमन्त्री शाह नेतृत्वको सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी भारत भ्रमणमा जानेछन् ।

त्यहाँ पुगेपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूतसहित केही सदस्य थपिनेछन् । यसैबीच प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाली र भारतीय उद्योगी व्यवसायीहरूको उपस्थितिमा आयोजना हुने नेपाल–इन्डिया फोरममा भारतीय सरकारको उपस्थिति नहुने भएको छ ।

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतको कन्फेडेरेसन अफ इन्डियन इन्ड्रस्ट्री (सीआईआई) ले संयुक्त रूपमा नेपाल–इन्डिया बिजनेस राउन्ड टेबल आयोजना गर्ने गरेका छन् ।

यसै क्रममा प्रधानमन्त्री शाह भारतमा भ्रमणमा रहँदा पनि मंसिर ६ गते आइतबार साँझ ७ बजे नयाँ दिल्लीस्थित होटल ताज महलमा नेपाल–इन्डिया बिजनेस राउन्ड टेबल आयोजना गर्ने तालिका छ । तर उक्त राउन्ड टेबल कार्यक्रममा भारतीय सरकार पक्षको उपस्थिति नहुने भएको छ ।

एफएनसीसीआई र सीआईआईले तयार गरेको कार्यक्रम तालिकाअनुसार, कार्यक्रमलाई नेपालका भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्नेछन् । यसअघि भारतका उद्योग तथा वाणिज्यमन्त्री पियुस गोयलले पनि उक्त फोरमलाई सम्बोधन गर्ने भनिएको थियो ।

तर कार्यक्रम तालिकाअनुसार गोयलको उपस्थिति नहुने निश्चित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भने कार्यक्रममा नेपालबाट मन्त्रीहरूले सम्बोधन गर्नुपर्ने भएपछि भारतको पनि उद्योग वा अर्थमन्त्रीलाई कार्यक्रममा उपस्थिति गराउन सीआईआइलाई भनेको थियो।

तर कार्यक्रममा भारतीय सरकारका उच्च तहका अधिकारी सहभागी नहुने निश्चित भएको हो । उक्त कार्यक्रममा सीआईआई इन्टरनेसनलका सहसंयोजक तथा सन इन्टरनेसनलका अध्यक्ष विक्रमजित सिंह साहनीले स्वागत सम्बोधन गर्नेछन् ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, पूर्व अध्यक्ष भवानी राणा, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ जना उद्योग व्यवसायीको ‘बिजनेस डेलिगेसन’ नयाँ दिल्ली जाने भएका छन् ।

यसैबीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई अन्तिम समयमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको प्रतिनिधिमण्डलबाट हटाइएको छ । पाण्डेलाई मंसिर ४ गते नै पत्र पठाएर प्रधानमन्त्रीको भारत भ्रमण दलमा सहभागी गराउन नसकिएको जानकारी गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले मंसिर ३ गते अध्यक्ष पाण्डेलाई पठाएको पत्रमा बिजनेस डेलिगेसनको सदस्यका रूपमा मनोनयन गरिएको भनिएको थियो। तर त्यो पत्र अहिले रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयले पाण्डेलाई गराएको छ ।

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने व्यावसायिक प्रतिनिधिमण्डलका सबै सदस्य निजी खर्चमा भारत भ्रमणमा जाने गरेका छन् । यसअघिका प्रधानमन्त्रीहरूको विदेश भ्रमणमा पनि व्यावसायिक क्षेत्रका व्यक्ति निजी खर्चमै सहभागी भएका थिए । यसैबीच बालेनको यो राजकीय भारत भ्रमण २५ घण्टा ३५ मिनेटको हुने कार्यतालिका तयार भएको छ ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो सवा ३ बजेदेखि सोमबार अपराह्न ४ः५० सम्म नयाँदिल्ली रहने कार्यतालिका छ । प्रधानमन्त्री शाहको राजकीय भ्रमण नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका हुन् ।

परराष्ट्रसचिव अमृतबहादुर राईले भ्रमण घोषणा गरेलगत्तै मन्त्रालयले प्रेस नोट सार्वजनिक गरेको छ भने त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले शुक्रबार भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्रीहरू दिल्लीबाहिर जाने विगतका प्रचलन यसपटक तोडिँदै छ ।

प्रधानमन्त्रीको अहिलेसम्मकै छोटो बसाइ हुनेछ । प्रधानमन्त्री शाहलाई गत चैतमै भारतीय समकक्षी मोदीले निमन्त्रणा दिएका थिए । शाह प्रधानमन्त्री भएको आठ महिनापछि भारत भ्रमण हुन लागेको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क भ्रमणमा गएका थिए ।

यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो । अब भोली आइतबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बालेन ताजमहल होटेल जानेछन् । सोही होटेलमा साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

आइतबार उनको अन्य कुनै कार्यक्रम छैन । विगतमा दिल्ली जाँदा नेपाली राजदूतावासले प्रधानमन्त्रीको स्वागत समारोह आयोजना गर्दै आएकोमा यसपटक त्यस्तो कार्यक्रम राखिएको छैन । प्रधानमन्त्रीको चाहनाअनुसार कार्यक्रम नराखिएको बताइएको छ ।

प्रधानमन्त्री शाहको मुख्य कार्यक्रम सोमबार हुनेछ । सोमबार बिहान १० बजे उनलाई राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा स्वागत गर्नेछिन् । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन् । भारतीय प्रधानमन्त्री मोदीसँग उनको पहिलो भौतिक भेटवार्ता राष्ट्रपति भवनमै हुनेछ ।

भारतीय सेनाबाट गार्ड अफ अनर लिएपछि प्रधानमन्त्री शाह बिहान १०ः४० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर दीप प्रज्वलन गर्नेछन् । राजघाटबाट उनी हैदराबाद हाउस पुगेर समकक्षी मोदीसँग औपचारिक वार्ता गर्नेछन्  । दुई प्रधानमन्त्रीबिचको औपचारिक वार्ता बिहान ११ बजेदेखि १२ः२५ सम्म हुनेछ ।

सुरुमा प्रधानमन्त्रीद्वय शाह र मोदीबिच सानो समूहमा वार्ता हुनेछ भने त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तामा नेपाल र भारतका कम्तीमा १५ जना उच्च अधिकारी सहभागी हुनेछ । औपचारिक वार्तापछि १२ः२५ मा भारतीय सहयोगमा बनेका र सम्पन्न आयोजनाको संयुक्त उद्घाटन र निर्माण सुरु हुन लागेका परियोजनाको संयुक्त शिलान्यास हुनेछ ।

सहकार्यका क्षेत्रहरूमा समझदारीपत्रमा हस्ताक्षर भएर आदनप्रदानसमेत हुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको औपचारिक दिवाभोजमा प्रधानमन्त्री शाह र प्रतिनिधिमण्डल सहभागी हुनेछ । औपचारिक भेटवार्ता र दिवाभोजपछि प्रधानमन्त्री शाहले सोमबार सवा ३ बजे भारतीय राष्ट्रपति मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

त्यहाँबाट उनी सिधै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् र ४ः५० बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनेछन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोमबार दुई प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नेछन् ।

‘साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुनेछ,’ भारतीय पक्षले भनेको छ । विशेषगरी व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र भौतिक तथा डिजिटल कनेक्टिभिटी (सम्पर्क सञ्जाल)लगायत विषयमा छलफल हुनेछ ।

दुई देशबिच स्टार्टअप, प्रविधि तथा नवप्रवर्तन (इनोभेसन) र खेलकुदजस्ता नयाँ क्षेत्रमा सहकार्य विस्तारबारे पनि छलफल हुने भारतीय विज्ञप्तिमा उल्लेख छ । भारतले आफ्नो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली अधिकारीहरूका अनुसार सडक, रेल, हवाई कनेक्टिभिटी, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँच चौकी, सूचना प्रविधि, स्टार्टअप, जलविद्युत् तथा ऊर्जा, स्वास्थ्य, शिक्षा, सुशासन र विकास सहायताका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता हुनेछन् ।

मूलतः आर्थिक साझेदारी र कनेक्टिभिटी (हवाई, सडक तथा डिजिटल)मा नेपालको जोड छ । यसबाहेक नेपालमा भारतीय लगानी, द्विपक्षीय व्यापार समेत छलफल र सहकार्यको एजेन्डामा छन् । दुई प्रधानमन्त्रीले सोमबार जनकपुर–अयोध्या रेलसेवा, भैरहवा–सुनौली एकीकृत जाँच चौकी, दार्चुलामा महाकाली पुल र काभ्रेमा निर्मित नेपाल प्रहरी एकेडेमीको संयुक्त उद्घाटन गर्नेछन् ।

त्यसैगरी, दोधारा चाँदनी एकीकृत जाँच चौकी, अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन परियोजना र सिलिगुडी–चारआली परियोजनाको भर्चुअल शिलान्यास हुनेछ । भ्रमणमा तल्लो अरुण जलविद्युत् परियोजना, बुटवल–पोखरा फास्ट ट्र्याक निर्माणसम्बन्धी समझदारी आदानप्रदान गर्ने तय भएको एक उच्च कूटनीतिक अधिकारीले बताए ।

यसैगरी, भैरहवा विमानस्थलका लागि भारतले एयर स्पेसबाट नेपालमा हवाई प्रवेश अनुमति दिने विषयमा पनि लगभग सहमति भएको ती अधिकारीले बताए । ‘भारतबाट एयर रुट अनुमति पाउने पक्कापक्की भयो, भ्रमणको यो महत्वपूर्ण उपलब्धि हुनेछ,’ ती अधिकारीले भने ।

नेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकन, एआई तथा सूचना प्रविधिमा सहकार्य, नेपाल–भारत सीमापार ग्यास पाइपलाइन, क्रिकेट रंगशाला तथा नेपाली खेलाडीलाई तालिम, भारतीय शैक्षिक संस्थानहरू आइआइएम तथा आइआइटीका नेपालमा शाखा सञ्चालन, विपत्पूर्वको तयारीमा सहकार्य, अप्टिकल फाइबरको गुणस्तर वृद्धि, दुई देशका राजधानीबाहेकका सहरबिच हवाई कनेक्टिभिटी विस्तार तथा थप पुल र सडक निर्माणमा भारतीय सहयोगलगायत एजेन्डामा पनि सहकार्यको घोषणा हुने भएको छ ।

यस्तै भ्रमणमा दुई देशबिच लामो समयदेखि थाती रहेको सुस्ता तथा कालापानी–लिम्पियाधुरा सीमा विवादबारे पुरानै प्रतिबद्धता दोहोर्याउने तयारी छ । परराष्ट्रका एक अधिकारीले भने, ‘तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा परराष्ट्रसचिवस्तरीय संयन्त्रलाई सीमा विवादबारे छलफल गर्न निर्देशन दिइएको थियो ।

अहिले पनि परराष्ट्रसचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाउने र स्थापित कूटनीतिक संयन्त्रमा सीमा (बाउन्ड्री)लगायतका विषयमा छलफल गर्ने प्रतिबद्धता दोहोर्याइनेछ । सीमाको विषयमा अलग्गै छलफल हुँदैन ।’ यद्यपि, यसबारे परराष्ट्रसचिव अमृतबहादुर राईले शुक्रबारको पत्रकार सम्मेलनमा केही बोलेनन् भने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । परराष्ट्र ती अधिकारीले भने, ‘नेपाल–भारत संयुक्त वक्तव्य जारी हुँदा यो विषय पुनः प्रतिबद्धताका रूपमा आउनेछ ।’

यसैबीच प्रधानमन्त्री शाहले रास्वपा सभापति रवि लामिछानेलाई भारत भ्रमणको कार्यसूची, कार्यतालिकालगायत सबै विषयमा शुक्रबार जानकारी दिएका छन्। प्रधानमन्त्री कार्यालयमा अपराह्न भएको भेटवार्तामा सभापति लामिछानेले राष्ट्रिय हितलाई केन्द्रमा राख्न र दुई देशबिच विश्वासको सम्बन्ध अभिवृद्धिमा जोड दिन सुझाव दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताएका छन् ।

भारतसँग सरकार, पार्टी र जनताबिचको सम्बन्ध थप सुदृढ हुनुपर्ने सभापति लामिछानेको सुझाव थियो । खरेलका अनुसार भ्रमण उपलब्धिमूलक र सफल होस् भन्ने सभापति लामिछानेको शुभकामना थियो । प्रधानमन्त्रीले आफू पनि त्यही दिशामा अघि बढिरहेको जवाफ दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top