काठमाडौँ, ११ जेठ ः राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदले सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन जोड दिएका छन् ।
जेठ ७ गते संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमका सन्दर्भमा सांसदहरुले उक्त धारणा राखेका हुन् ।
उनीहरुले नीति तथा कार्यक्रम शब्दमा राम्रो देखिए पनि त्यसको प्रतिफल कार्यान्यनपछि मात्र जनताले अनुभूति गर्न सक्ने बताएका छन् ।
राष्ट्रियसभामा बोल्दै खिमलाल भट्टराईले जनताको आँगनमा लोकतन्त्र आएको अनुभूति दिलाउन नीति तथा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको जानकारी दिए ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकमा सांसद जितेन्द्रनारायण देवले सरकारको नीति तथा कार्यक्रम कम्युनिष्ट घोषणापत्र भएको दाबी गरे।
सांसद हरिराम चौधरीले पूर्वधार विकास, पर्यटन र जलस्रोतको विकासलाई पहिलो प्राथमिक सूचीमा राख्नुपर्ने बताए।
त्यसैगरी रमेशप्रसाद यादवले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणबाट दिगो कृषि विकास हुने बताए ।
सांसद नरपत्नी लुहारले नीति तथा कार्यक्रमले सामूहिक, करार र सहकारी खेतीको अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने बताए।
सांसदहरुले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत नीति तथा कार्यक्रमका सन्दर्भमा आ–आफ्नो भनाइ राखेका थिए ।
रासस