३० मंसिर, काठमाडौं ।
अन्नपूर्ण तथा ईन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवालले आन्दोलनको नेतृत्व गरिरहेका कृषक आन्दोलनका सचिव हरिश्याम रायले मोलमोलाइ गरेको आरोप लगाएका छन् ।
विभिन्न चरणमा रायले आफूसँग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएको बैंक स्टेटमेन्ट उनले सार्वजनिक गरेका छन् । सबैभन्दा उखु किसानलाई भुक्तानी दिनुपर्ने ठुलो बक्यौता छ ।
आन्दोलनको नाममा उनले आफूसँग मोलमोलाई गरेको अग्रवालको आरोप छ । उनले आफूलाई आन्दोलनको धम्की दिएर रायले विभिन्न मितिमा दाबी गरे । भुक्तानी नपाएका किसानसंग उखुका पर्ची सस्तोमा किनेर उद्योगीलाई महँगोमा बेची करोडौं रुपैयाँ रायले लिने गरेको उनको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, उनको स्वार्थअनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन भन्दै काठमाडौं आउँछन् र पुनः मोल मोलाई सुरु गर्छन् । मोलमोलाइ प्रकरणको निश्पक्ष छानबिनकालागि उनले अनुरोध समेत गरेका छन् ।
उनले भनेका छन्, हरिश्याम रायले कति जमिनमा खेती गर्छन ? उनको उखुको उत्पादन र बिक्री कति थियो ? उनले मिलबाट पाउनु पर्ने रकम कति हो ? तर उनले सन् २०१९ को मे महिनाको २ तारिखदेखि सन् २०२० को मार्च ३ तारिखसम्म ३२ पटक गरेर हामीसँग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको रायको खाता नम्बर ०४४०५०५०२७६५७५ मा उद्योगले पटक पटक पैसा पठाएको छ र नगदै समेत दिएको उनको जिकिर छ । उनले उद्योगीको घरमै गएर पैसा लिएको भिडियो प्रमाणसमेत आफूसँग सुरक्षित रहेको बताए ।
उनले भनेका छन्, आन्दोलनको नाममा उनले हामीलाई पटक पटक धम्क्याएर ठूलो रकम असुली गरेपछि उद्योगीले बाध्य भएर उनको गतिविधि निगरानी गरेका थियौं र अब सहनै नसक्ने गरी हामीमाथि प्रहार भएपछि यो सार्वजनिक गर्न बाध्य भएका हौं । यो सबै जानकारी उद्योगीले सरकारलाई पनि बुझाएका छौं ।
उनले चिनी उद्योगीको भुक्तानी चाडै गर्ने भन्दै बिचौलिया र उद्योगीलाई दुःख दिनेलाई तत्काल कारबाही गर्न माग गरेका छन् । चिनी मिलबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै सर्लाहीका केही किसानहरु अहिले काठमाडौंमा आन्दोलनरत छन् ।
गतवर्ष पुसमा सरकारसँग भएको सहमति पछि बिगत १ बर्षको अवधिमा १८ करोड रुपैयाँ किसानको बक्यौता तिरेको उनले जानकारी दिए । उनले आफ्नो उद्योगको स्वामित्वमा रहेका दुई वटा उद्योगको एक वर्ष अघिको ४० करोड बक्यौता घटेर २२ करोडमा आईपुगेको जानकारी दिए ।उनले भने, एउटै मिलको बक्यौता ३० करोड भनी गलत प्रचार गरेका छन् ।
दुई वटा चिनी मिल सञ्चालन गर्न हामीले दुई अर्ब रुपैयाँ लगानी गरेका थियौं । गलत ठाउँमा उद्योग चलाएका कारण अहिले सम्म हामीले ९० करोड भन्दा बढी घाटा खाएका छौं । कोभिडकाकारण थलिएको आर्थिक अवस्थाका बाबजुत पनि सकेको बक्यौता तिरेका पनि छौं ।
