६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको विकृत मानसिकताका कारण गम्भीर परिस्थितिको सिर्जना भएको बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीको नाममा संवोधन गर्दै उनले नेताहरूको विकृत मानसिकताले देशले प्रतिनिधि सभा विघटन जस्तो गम्भीर अवस्था आएको दाबी गरे । पद, प्रतिष्ठा र पदसोपानको लोभका कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । आरोप पत्र फिर्ता लिन, विशेष महाधिवेशन गर्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेता पनि उनले नमानेको ओलीले बताए । ‘आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व हस्तान्तरण र आगामी निर्वाचनबाट नेतृत्व हस्तान्तरण गर्न तयार रहँदा पनि अविश्वासको प्रस्ताव पेश गर्दा अवस्था असहज बनेको हो’, उनले भने । प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन आफ्नो चाहना नभए पनि मुलुकलाई निकास दिनको लागि विघटन गर्नुपरेको ओलीको तर्क छ । केही पार्टीका नेताहरूले संसदलाई नै कमजोर बनाएपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको उनको प्रष्टिकरण छ ।