८ पुष, ललितपुर । नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय कमिटीको बैठकले मेलमिलाप दिवस मनाउने निर्णय गरेको हो । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पुस १६ गते मेलमिलपा दिवसको कार्यक्रम गर्ने प्रस्ताव पेश गरेका थिए । जुन प्रस्ताव सर्वसम्मत रुपमा निर्णय भएको हो । केन्द्रीय समितिको बैठकमा युवा नेताहरुले सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध देशव्यापी सांकेतिक रुपमा प्रदर्शन गर्न माग गरेका छन् । युवा नेताहरुको मागका विषयमा भएको छलफलपछि कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गर्ने समेत तयारी थालेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस १६ अघि सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा सहमति बनेको बताए । तर कुन मितिमा प्रदर्शन गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए ।