१४ पुस, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानप्रति विश्वासघात गरेको बताएका छन् ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौँमाआयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै बरिष्ठ नेता खनालले नयाँ संविधान बनाउँदा संसद विघटन हुने विषयमा प्रधानमन्त्रीको विशेषाधिकार राख्नुहुँदैन भनेर हटाएको र स्वयं केपी शर्मा ओलीको उपस्थिति रहेको भएपनि ओलीले आफैले बनाएको संविधानमा विश्वासघात गरेको बताएका हुन् । देश अस्थिरतातर्फ जानलागेको भन्दै बरिष्ठ नेता खनालले संसद पुर्नस्थापनाअनिवार्य शर्त रहेको बताए ।
गत निर्वाचनमा केपी ओलीलाई नभई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भिजनलाई हेरेर जनमत आएको भएपनि ओलीले बालुवाटार पुगेको दिनदेखि पार्टीलाई बिर्सिएको आरोप लगाए । पार्टीको नीति अनुरुप सरकारलाई समाजवादी बाटोमा हिडाउनुको सट्टा पूँजीवादी नीति, कार्यक्रम र बजेट ल्याएको तथा तीनवर्ष केवल गफ हाँकेर बिताएको बताए ।
बिगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता प्रक्रिया प्रधानमन्त्री ओलीको कारण पूरा नभएको भन्दै बरिष्ठ नेता खनालले अब पार्टीको एकता टुंग्याएर नयाँ जनआन्दोलनको आधिँहुरी ल्याउने बताए । प्रतिनिधि सभा विघटन विरुद्ध प्रतिपक्षीदलहरुले गरेको आन्दोलनमा पनि उनले ऐक्यबद्धता जनाउँदै मिलेर अघि बढ्न आग्रह गरे ।