२३ पुस, काठमाडौँ ।
प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई आज एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्य छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाका साथ निर्वाह गर्न निर्देशन दिए ।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेलले प्रचलित कानुन र सङ्गठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।
