लन्डनमा नेपाली सेफको हत्या

२९ पुस, लन्डन ।

Advertisement

लन्डनमा काम सकेर फर्किंदै गर्दा एक नेपाली सेफको हत्या भएको छ । लण्डनको इष्टकोटमा बस्दै आएका अन्दाजी ४० वर्षीय विक्रम केसीको गत आइतबार राती हत्या भएको हो।

आइतबार राति करिब साढे १० बजे लन्डन इस्टकोट रेल स्टेसन अगाडि झगडा हुँदा केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।

Advertisement

सामान्य भनाभनमा २१ वर्षीय एक युवाले कुटपिट गरेपछि उनको घटनास्थलमै निधन भएको तिमल्सेनाले बताए । प्रहरीले ती युवकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।

मृतकको शरीरमा कुनै देखिने खालका चोटपटक नरहेको तथा घटनामा कुनै पनि हतियार प्रयोग भएको नपाइएको समेत प्रहरीको भनाई उदृत गर्दै तिमल्सेनाले बताए।

Advertisement

लन्डनस्थित सोसल ढाबा नामक रेस्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवाबीच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण खुल्न सकेको छैन ।

‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेसनतिर निस्कँदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसँग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे ।’ स्टेसनबाट केसीको घर करिब दुई मिनेट दूरीमा छ ।

एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन् । स्वर्गीय केसी भारत, कुवेत हुँदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । इण्डो चाइनिज खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किडलगायत लन्डनका कैयौं रेस्टुरेन्टमा काम गरेका थिए ।

काठमाडौं स्थायी घर भएका केसी श्रीमती र भाइबुहारीका साथ लन्डनमा बस्थे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top