११ माघ, एजेन्सी ।
रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढि समर्थकलाई पक्राउ गरेको छ ।
विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए । रुस आए लगत्तै उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
त्यसको विरोधमा नाभाल्नीका समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् । प्रहरीले नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप गरि तीन हजार भन्दा बढिलाई पक्राउ गरेको अनुगमन कर्ताले बताएका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए । पछिल्लो केही वर्ष यता पुटिन विरुद्ध भएको ठूलो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
मस्कोमा दंगा प्रहरीले प्रदर्शनकारीलाई कुटेको तथा लतार्दै लगेको देखिएको थियो । गएको आइतबार पक्राउ परेका नाभाल्नीले प्रदर्शनका लागि आह्वान गरेका थिए । रुसका एक सय भन्दा बढि शहर तथा बजारहरुमा नाभाल्नीको रिहाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा विद्यार्थीदेखि पाको उमेरका व्यक्तिसम्म सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मस्कोको मध्य क्षेत्रमा भएको प्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
तर रुसको आन्तरिक मामिला मन्त्रालयले भने सो संख्या चार हजार मात्रै रहेको दाबी गरेको छ । अनुगमनकर्ताहरुले भने रुसभर शनिबार भएको प्रदर्शनमा सहभागीको संख्या अधिक रहेको बताएका छन् ।