११ माघ, काठमाडौं ।
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरे । पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बल बहादुर बस्नेत छन् ।