११ माघ, काठमाडौँ ।
निर्वाचन आयोगले २०७८ साल वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी सम्बन्धमा विभिन्न विषय क्षेत्रमा आवश्यक सहयोगका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरेको छ ।
आयोगबाट सञ्चालन भइरहेको मतदाता नामावली (दाबी विरोध समेत) अद्यावधिक गर्न, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सरोकारवालाहरूको व्यापक सहभागितामा सम्पन्न गर्न गराउन आम नागरिकहरुलाई सु–सूचित गराउन अनुरोध गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम वा सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरी निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलापहरू व्यवस्थापन गर्न उपयुक्त स्थल चयन गरी विकल्प सहित आयोग समक्ष सिफारिस गरी पठाउने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।
मतदान स्थलहरूको संरक्षण, मर्मत सम्भार लगायत निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरूको व्यवस्थापन गर्नुका साथै निर्वाचनका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी स्थानीय प्रशासनले आवश्यक व्यवस्था गर्ने समेत जनाइएको छ ।
साथै निर्वाचन सम्बन्धी कार्यक्रमहरू सम्पन्न गर्न गराउन आवश्यक सहयोगका लागि सबै सरोकारवालाहरूलाई आयोगले अनुरोध समेत गरेको छ ।