२१ माघ, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । उनी बुधबार दिउँसो टंगालस्थित आयोगको मुख्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
राईले बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यस्तै आयोगको सदस्यमा नियुक्त जयबहादुर चन्द र किशोरकुमार सिलवाल पनि कार्यालय पुगेर पदभार सम्हालेका छन् । सरकारले राईसहित ३८ जनालाई विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।