२२ माघ, काठमाडौं ।
मुलुकले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि बढाउँदै आएको छ । यसका लागि मुलुकमा सुशासन कायम हुनु अपरिहार्य छ । अख्तियारका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरुले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउने दृढता व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तहरुमा किशोरकुमार सिलवाल तथा जयबहादुर चन्दलाई नियुक्त गरेसँगै उनीहरुले आफ्नो काम सुरु गरेका छन् ।
प्रमुख आयुक्त राई र आयुक्तहरु सिलवाल तथा चन्दले अख्तियारको कार्यालयमा पुगेर पदभार ग्रहणसँगै काम सुरु गरेका हुन् । अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त राई पूर्व गृहसचिवसमेत हुन् ।
त्यसैगरी नवनियुक्त आयुक्त सिलवाल कानुनका ज्ञाता हुन् । यसैगरी अर्का नवनियुक्त आयुक्त चन्द पूर्व प्रहरी नायव महानिरीक्षक हुन् ।
आयोगले गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले मुलुकमा भ्रष्टाचार बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएको भन्दै यसलाई नियन्त्रण गर्दै आयोगलाई नमूनाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख आयुक्त राईले मुलुकले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणा साकार पार्न सुशासन कायम गर्नुपर्ने भएकाले आयोगले त्यसमा प्रतिबद्ध भएर काम गर्ने बताए ।
देशमा सुशासन कायम गर्न आगामी दिनमा थप प्रतिबद्ध भएर लाग्न प्रमुख आयुक्त राईले कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन् ।
जनताको आकांक्षा मुलुकमा भ्रष्टाचार नहोस् र सुशासन कायम होस् भन्ने छ । सरकारको चाहना पनि यही छ । संवैधानिक निकाय अख्तियारले भ्रष्टाचार नियन्त्रणमा गरेको प्रयासलाई अझ बलियो बनाउनुपर्ने आवाज आउने गरेको छ । तर मुलुक संघीय संरचनामा गइसकेपछि भ्रष्टाचार झन् बढेको अख्तियारकै प्रतिवेदनमा देखिएको छ ।
नवनियुक्त आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि आफूहरु उच्च मनोबलका साथ आएकाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गराउन प्रयास गर्ने दृढता व्यक्त गरेका छन्।
अख्तियारमा अहिले भ्रष्टाचारका विषयमा सयौं उजुरी छन् । ती उजुरीमाथि गम्भीर रुपमा छानबिन गरी टुंगो लगाउनुपर्ने दायित्व अख्तियारको छ ।