नेकपाका दुवै समूह मुठभेड मुडमा

२१ माघ ७७, बिहीबार

सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने भएको छ। त्यसको तयारीस्वरूप ओली समूहले बुधबार मोटरसाइकल र्‍याली आयोजना गरेको छ। नेकपाकै नेपाल–दाहाल समूहले बिहीबारका लागि आमहडताल घोषणा गरेको छ। आमहडताल सफल पार्न आह्वान गर्दै दाहाल–नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकाल्यो। यसरी नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको छ।

प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूहले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली समूह पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको हो।

२०७५ साल जेठ ९ गते दुई पार्टी एकीकरण भएपछि सत्तारुढ बनेको नेकपा कानुनी रूपमा एक भए पनि राजनीतिक रूपमा विभाजित छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो। विभाजनपछि पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह सडकमा पुगेको छ।

Advertisement

ओली समूहले सभा आयोजना गरेको अघिल्लो दिन बिहीबारका लागि नेपाल–दाहाल पक्षले आमहडताल आह्वान गर्नुले मुठभेडको सम्भावना बढेको आकलन गर्न थालिएको छ।, यो समाचार नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top