२७ माघ, रौतहट ।
रौतहटस्थित डिभिजन वन कार्यालय चोचाबाट खटिएको सशस्त्र वन गस्ती टोलीले अवैध रुपमा राष्ट्रिय बन क्षेत्रबाट सालको रुख ढालेर काठ तस्करी गरिरहेको अवस्थामा तस्कर समूहलाई फेला पारेपछि दोहोरो झडप भएको छ ।
झडपको क्रममा वन गस्ती टोलीले रौतहटको गुजरा नगरपालिकाका वडा नम्बर २ मैढाबाट ६ थान साइकलमा लोड गरिएको झन्डै ३७ क्युफिट ६ थान सालको गोलाई नियन्त्रणमा लिएको छ ।
डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहका अनुसार गस्तीका खटिएको टोली र ठुलो सङ्ख्यामा रहेका तस्करबिच एक्कासि जम्का भेट हुँदा मुठभेड भएको र हवाई फायरपछि तस्करहरू काठ र साइकल छाडेर भागेका थिए ।
बरामद भएको काठ र साइकल डिभिजन वन कार्यालय चोचामा राखिएको र वन गस्ती माथि आक्रमण गर्ने तस्कर समूहको खोजी भइरहेको प्रमुख साहले जानकारी दिए ।
यसैगरी, रौतहटमा अवैध चिरान काठसहित दुई जना तस्कर पक्राउ परेका छन् । डिभिजन वन कार्यालय पौराईबाट खटिएको गस्ती टोलीले १५ क्युफिट चिरान काठ सहित चन्द्रपुर नगरपालिका वडा ५ बस्ने ५० वर्षीय राम एकवाल राउत र सोही स्थान बस्ने राम विनय साहलाई पक्राउ गरेको छ ।
सव डिभिजन वन कार्यालय पौराई अन्तर्गत जुडिवेलामा राम विनयको घरमा काठ चिरान गरिरहेको अवस्थामा वन गस्ती टोलीले राउत र साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका व्यक्ति तथा काठलाई डिभिजन वन कार्यालय रौतहटमा राखी थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद कुमार सिंहले जानकारी दिए ।