२८ माघ, काठमाडौं ।
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त शोभाकान्त ढकाल विशेष अदालत हाजिर भएका छन्। बुधबार अदालत हाजिर भएका ढकालको बयान जारी रहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।
उक्त जग्गाको मुख्य बिचौलियाको भूमिका निभाएका ढकाल यसको अनुसन्धान सुरु भएपछि फरार भएका थिए। ढकाल र रामकुमार सुवेदीले संयुक्त रूपमा उक्त सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा विचौलियको भूमिका निभाएका थिए। सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा बालुवाटरको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल सुरु भएको थियो।
ललिता निवास प्रकरणमा अधिकांश प्रतिवादीले ढकालको नाम लिएका थिए। ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेका थिए। ढकालले उक्त जग्गा राखेर आइएमइ इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋण समेत लिएका थिए।
त्यस्तै, सन्दिप ढकालको नामबाट यति विकास बैंबाट ४९ लाख रूपैया ऋण लिएका थिए। अभियोगपत्रमा शोभाकान्तकी श्रीमती उमाकुमारीसँग ९१ लाख २० हजार र ढकालसँग २९ करोड २७ लाख ९८ हजार विगो दाबी गरेको छ।
ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । हालसम्म विशेषमा ६३ जना प्रतिवादी हाजिर भएका छन्। ४७ जना आरोपितहरू उपस्थित हुन बाँकी रहेका छन्।