विराटनगर,जेठ २५
जनकपुरदेखि नेपालगन्ज जादैँ गरेको ना ५ ख १८२९ न को यात्रुबाहक बस दाङको भालुबाङ लमही सडक खण्डको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको छ ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने बसमा सवार ३२ जना यात्रु घाईते भएका छन् । तीव्र गतिका कारण बस दुर्घटना भएको यात्रुले बताएका छन् ।
बसमा सवार आयुष्मा थापाले बस तीव्रगतिमा हुँदा अनियन्त्रित भई दुर्घटना भएको बताइन् । उनले यात्रुहरुले बिस्तारै लैजान आग्रह गरे पनि ड्राइभरले गति कम नगर्दा अनियन्त्रित भएर दुर्घटना भएको बताईन् ।
दुर्घटनामा भारत उत्तर प्रदेश लक्खिमपुरकी पाँच वर्षीया नुरवी नाईको ज्यान गएको इलाका प्रहरी कार्यालय लमही जनाएको छ।
दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन्। १२ जना मध्यम र ९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये २७ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको छ भने ५ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना पछि बस चालक सम्पर्क बिहिन भएका छन्। बस चालकको अबस्था अज्ञात रहेको र खोजी जारी राखिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंहले जानकारी दिए।