४ फागुन, एजेन्सी । भारतको मध्य प्रदेशको सिधीमा मङ्गलवार बिहान एक यात्रुवाहक बस नहरमा खस्दा ज्यान गुमाउनेको संख्या ४२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मङ्गलवार बिहान साढे सात बजेतिर सिधीबाट सतना गइरहेको बस २२ फिट गहिरो नहरमा खसेको हो । दुर्घटनाको समय बसमा ६० जना रहेको बताइएको छ ।
स्थानीय प्रशासनका अनुसार अहिलेसम्म ४२ जनाको शव नहरबाट बाहिर निकालिएको छ । अन्य ११ जनाको खोजी भइरहेको छ ।
यसका साथै सात जनालाई बचाइएको बीबीसीमा उल्लेख छ ।
त्यहाँको प्रशासनले नहरमा डुबेको बसलाई क्रेनको मदतमा बाहिर निकालेको छ । उद्धार अभियानमा प्रशासनले गोताखोरको सहयोग लिएको छ ।
प्रशासनका अनुसार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्छ । प्रशासनले नहरमा बगेका भनिएकाहरूको खोजीमा जुटेको जनाएको छ । बसका ड्राइभरले भने पौडेर ज्यान बचाएको बताइएको छ ।
यस घटनाको कारणबारे थाहा भइसकेको छैन । बसमा क्षमताभन्दा धेरै जना सवार भएको हुन सक्ने मानिएको छ । ३२ सिट क्षमताको बसमा ६० जना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सडक जामका कारण बस अर्कै बाटो भएर गएको र सडक अप्ठ्यारो भएका कारण गाडी ड्राइभरको नियन्त्रणबाहिर जाँदा गहिरो नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।