४ फागुन, विराटनगर । प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच विभिन्न परियोजना अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा प्राधिकरणका तर्फबाट निर्देशक डाक्टर सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।
सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा वित्तीय तथा प्राविधिक सहकार्य तथा आवश्यक सेवाहरूको सम्बोधन गर्ने समझदारी भएको हो ।
कार्यक्रममा निर्देशक डा. सरोज कोइरालाले प्रदेश १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी गराए ।
सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ सँग समझदारी पत्रमा हस्ताक्षर गरेसँगै अरू प्रदेश सरकार र पालिकासँग समेत सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।