५ फागुन, ताप्लेजुङ ।
गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।
मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए।
शेर्पाले भने, शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ। अहिले करिब एक फिटसम्म हिउँ जमेको छ। सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए। पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए।
उनले भने, चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन। घरभित्र आगो तापेर बस्नुपर्छ। चौँरी र गाईवस्तु हिउँ कम पर्ने अलिक औल झारेको फले निवासी लाक्पा भोटियाले बताए।
हिजोदेखि अहिलेसम्म निरन्तर हिउँ परेको उनले जानकारी दिए। घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्दछ।
यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ पर्दछ।
यस बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए। हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ।
सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताए।
मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले बताए। ताप्लेजुङ जिल्ला हिउँले सेत्याम्य भएको छ।
ताप्लेजुङमा आजको बिहानको मौसम न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ।(रासस)