पोखरा, जेठ २६
संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताएका छन् ।
संघीय प्रेस फोरम कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताए ।
संविधान निर्माणका क्रममा भएका त्रुटिलाई संशोधनको माध्यमबाट सुधार गर्दै अगाडि बढ्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग भएको दुईबुँदे सहमतिका आधारमा संघीय समाजवादी फोरम सरकारमा सामेल भएको उनले बताए ।
संघीय समाजवादी फोरमको सहभागितासँगै दुई तिहाइभन्दा बढी बहुमतको सरकार बनेको बताउँदै उनले भने ‘‘कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन अपरिहार्य छ ।’’
पहिचान, समावेशीता, स्वायतत्ता, सुशासनलगायतका जनताका आधारभूत आवश्यकताका रुपमा रहेका शिक्षा, स्वास्थ्य, आवास, खानेपानीलगायतका आवश्यकतालाई पूरा गराउन आफू सक्रियपूर्वक लाग्ने उनले बताए ।मुलुकमा रहेको ठूलो आर्थिक व्यापार घाटा, गरिबी र बेरोजगार ढिलासुस्तीजस्ता विकृतिको अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाइने बताउँदै उनले स्वास्थ्य बीमालाई समिति गठन गरेर व्यवस्थित गरिने जानकारी दिए ।
रासस