के छ ओलीको अबको रणनीति ?

१२ फागुन ७७, बिहीबार

नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि निर्धारित अवधिभित्रै संसद् अधिवेशन बोलाउन तयार देखिएका छन्। तर, तत्काल राजीनामा दिनेतर्फ भने सकारात्मक देखिएका छैनन्। ओली आफूमाथि आइपर्ने संकट संसद्बाटै सामना गर्ने गरी अगाडि जान खोजेका छन्।

ओली पक्षले बुधबार आफ्नो समूहको स्थायी समिति बैठक बसेको थियो। बैठकमा नेताहरूले पछिल्लो घटनाक्रमबारे सुझाव राख्ने क्रम सुरु भएको ओली पक्षका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बताए। अदालतको फैसला स्वीकार गर्ने, अदालतले तोकेकै १३ दिनभित्रै संसद् अधिवेशन बोलाउने निर्णय बैठकले गरेको छ।

ओली पक्षका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलालाई सम्मान गर्ने बताए। ‘कतिपय फैसला अपेक्षित हुँदैनन्। तिनका परिणाम पनि राम्रा हुँदैनन्’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सर्वोच्चको फैसलाबारे पनि हाम्रा केही गम्भीर प्रश्न छन्। तर, सर्वोच्चको फैसलालाई हामी सम्मान गर्छौं। निर्धारित मितिमै संसद्को बैठक बोलाउने निर्णयमा हामी छौं।’

Advertisement

नयाँ सरकार गठनको अवस्था स्पष्ट नहुँदासम्म ओलीले राजीनामा नदिने निष्कर्षमा ओली पक्ष देखिएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले राजीनामा दिने मात्र भन्दा पनि राजीनामा दिइसकेपछिको अवस्था मूल्यांकन गरेर मात्र आवश्यक निर्णय लिइने जानकारी दिए।

ज्ञवालीले भने, ‘महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं। पछाडिका परिदृश्यलाई नहेरी जिम्मेवारी छोड्न सकिँदैन।’

Advertisement

ओली पक्षले बिहीबार सम्भवत: केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउनेछ। आफ्ना तय भएका कार्यक्रम परिमार्जन गरी जाने नीति ओली पक्षले लिएको छ। बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले आन्दोलनको स्वरूप फेरिएको र त्यसका लागि संसद्भित्रको लडाइँ प्रमुख भएर आएको बताएको स्थायी समिति सदस्य मण्डलले बताए। ‘अब संसद्भित्रको लडाइँ प्रमुख भएर आएको छ। विपक्षीहरू कसरी आउँछन्, त्यहीअनुसार हामीले पनि आफ्नो रणनीति बनाउने कुरा हुन्छ। हरेक परिस्थितिको सामना गरेरै अगाडि जानुपर्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता मण्डलले भने।, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top