१२ मंसिर , काठमाण्डौ ।
प्रतिबन्धका बावजुद देशको औपचारिक बैंकिङ प्रणालीलाई नै चुनौती दिँदै समानान्तर अर्थतन्त्रका रूपमा हुण्डी कारोबार नेपालमा डरलाग्दो गरी फस्टाइरहेको छ । सरकारले २०८१ पुस १८ मा हुण्डीलाई सम्पत्ति शुद्धीकरणको सम्बद्ध कसुर घोषणा गरी मुलुकी अपराध संहिताको दफा १२५क अन्तर्गत कठोर कानुनी प्रतिबन्ध लगाएको छ ।
तर पनि अवैध सञ्जाल झन् झन् ‘हाइटेक’ र संगठित बन्दै गएको छ । यसबीच यो अवैध हुण्डी कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका युवा, खुद्रा व्यापारी र रेमिट्यान्सका सब–एजेण्टहरूको संलग्नता बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले शुक्रबार सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट, २०२६ः हुण्डी’ शीर्षकको रणनीतिक विश्लेषण प्रतिवेदनले यस्तो देखाएको हो ।
वित्तीय जानकारी इकाईको ‘गो–एएमएल’ प्रणालीमा सन् २०२५, जनवरी ०२ देखि २०२६, जुलाईसम्म प्राप्त भएका हुण्डीसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनहरूको विस्तृत विश्लेषण गरी यो प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिवेदन कुनै निश्चित मुद्दा, संस्था वा व्यक्तिमा केन्द्रित नभई हुण्डीको प्रवृत्ति, प्रकार र विधिको पहिचानमा केन्द्रित रहेको छ । प्रतिवेदन अनुसार नेपालमा हुण्डी कारोबारका लागि अरूको बैंक खाता प्रयोग गर्ने अर्थात् ‘म्युल एकाउन्ट’ को प्रयोग गर्ने, नगदको सीमा छल्न रकम टुक्र्याएर जम्मा गर्ने र कानूनी व्यक्तिको आवरण प्रयोग गर्ने प्रवृत्ति देखिएको छ ।
त्यसैगरी, क्रिप्टोकरेन्सीको प्रयोग, नगद नै ओसारपसार गरी भुक्तानी दिने, विप्रेषण कारोबार गर्ने सब–एजेण्टको प्रयोग गर्ने तथा विभिन्न डिजिटल प्रविधिहरूको प्रयोग बढ्दो क्रममा रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
हुण्डी कारोबारको फछ्र्यौट पहिले ‘बाइल्याटरल अफसेटिङ’ तथा ‘सेटलमेन्ट थ्रु भ्यालु’ मार्फत हुने गरेकोमा पछिल्लो समय औपचारिक ‘फर्मल बैंक–बेस्ड च्यानल्स’ तथा ‘डिजिटल–बेस्ड च्यानल’ मार्फत हुने क्रम बढेको देखिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूलाई उद्धृत गर्दै प्रतिवेदनमा हुण्डी कारोबारमार्फत मानव तथा लागू औषध तस्करी, भ्रष्टाचार र करछली जस्ता गम्भीर अपराधबाट आर्जित कालो धनलाई शुद्धीकरण गर्ने गरिएको उल्लेख छ। यस्तै, हुण्डीमार्फत आतङ्ककारी कार्यमा वित्तीय लगानी हुने उच्च जोखिमसमेत रहेको निष्कर्ष निकालिएको छ ।
हुण्डी नियन्त्रणका लागि चालिनुपर्ने कदमहरू सिफारिस गर्दै प्रतिवेदनले सूचक संस्था (रिपोर्टिङ इन्टिटिज), नियामक तथा सुपरिवेक्षक, कानून कार्यान्वयन गर्ने निकाय र नीति निर्माताहरूलाई महत्त्वपूर्ण सुझाव दिएको छ ।
जसमा शंकास्पद कारोबार प्रतिवेदन (एसटीआर÷एसएआर) को गुणस्तर सुदृढ बनाउने, जोखिममा आधारित निगरानी गर्ने, हुण्डी पहिचान गर्ने ‘रेड–फ्ल्याग इन्डिकेटर्स’ अद्यावधिक गर्ने, अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने, प्राविधिक क्षमता बढाउने तथा व्यापक जनचेतना विस्तार गर्नुपर्ने विषयहरू समावेश छन्।
पछिल्लो १८ महिनामै बैंक तथा वित्तीय संस्थाबाट १ हजार ६७२ वटा शंकास्पद हुण्डी कारोबार रिपोर्ट हुनु र ५ वर्षमा प्रहरी अनुसन्धान तीन गुणाभन्दा बढीले बढेर पौने ३ अर्ब रुपैयाँ सरकारी कोषमा जफत हुनुले हुण्डीको जरा नेपाली समाज र अर्थतन्त्रमा कति गहिरोसँग गाडिएको छ भन्ने प्रस्ट पार्छ ।
प्रतिवेदनअनुसार कानुनी डण्डा मात्रैले नपुग्ने गरी हुण्डीलाई मलजल गरिरहेका सात मुख्य कारणहरू नितान्त आर्थिक, भौगोलिक, जनसांख्यिक र नीतिगत छिद्रहरूसँग जोडिएका छन् । राष्ट्रबैंकको प्रतिवेदनका अनुसार नेपालमा हुण्डी फस्टाउनुको सबैभन्दा प्रमुख र प्रत्यक्ष कारण अनौपचारिक बजार र वाणिज्य बैंकहरूले दिने विदेशी मुद्राको सटही दरबीचको फराकिलो अन्तर हो ।
हुण्डी सञ्चालकहरूले विदेशमा काम गर्ने नेपाली श्रमिकलाई वाणिज्य बैंकहरूको तुलनामा सधैं आकर्षक र बढी विनिमय दर दिने प्रलोभन देखाउँछन् । थोरै नै सही, बढी पैसा हात पर्ने भएपछि घरपरिवारको क्रयशक्ति बढाउने लोभमा श्रमिकहरू औपचारिक बैंकिङ च्यानल छाडेर हुण्डीको पासोमा पर्ने गरेका छन् ।
यसरी विदेशमै विदेशी मुद्रा संकलन गरी नेपालमा रहेका परिवारलाई डिजिटल वालेट र कनेक्ट–आईपीएसमार्फत नेपाली रुपैयाँ भुक्तानी गरिँदा मुलुकको आधिकारिक विदेशी मुद्रा सञ्चितिमा आउनुपर्ने अर्बौं रकम बाहिरै रोकिने गरेको छ ।
यसैगरी देशको केन्द्रीय बैंकले वैदेशिक मुद्रा बाहिरिन नदिन सटही सुविधामा कडा सीमा र नियमहरू लागू गरेको छ । तर, यही कडाइ अर्कोतर्फ हुण्डी बजारका लागि अवसर बनिदिएको छ । जब आम नागरिक आफ्ना छोराछोरीको अन्तर्राष्ट्रिय विश्वविद्यालयको शुल्क तिर्न, विदेशमा महँगो स्वास्थ्योपचार गराउन वा व्यक्तिगत भ्रमणमा जान चाहन्छन्, तब बैंकहरूले तोकेको न्यून सीमा र झन्झटिलो कागजी प्रक्रिया बाधक बनिदिन्छ ।
औपचारिक बाटोबाट पर्याप्त डलर नपाएपछि र सीमा नाघ्नुपर्ने बाध्यता आएपछि मानिसहरू सहजै हुण्डी बजारको शरणमा पुग्ने गरेका छन् । सुन आयातमा लगाइएको कोटा प्रणाली र डलर अभावका कारण तस्करीको सुनको भुक्तानी समेत हुण्डीबाटै हुने गरेको ६०.७ केजी सुन र भुक्तानी सेवा प्रदायक पेवेल तथा सजिलो पेको सवा खर्बको अवैध कारोबार काण्डले छर्लङ्ग पारिसकेको छ ।
यस्तै नेपाली आयात व्यापारमा जरो गाडेको भन्सार छली र न्यून बिजकीकरण हुण्डीको अर्को ठूलो इन्धन हो । कैयौं आयातकर्ता व्यापारीहरूले सीमा भन्सार बिन्दुमा कर र भन्सार महसुल जोगाउन विदेशबाट ल्याइएको सामानको वास्तविक मूल्य लुकाएर कन्टेनरको मूल्य अत्यन्तै कम घोषणा गर्छन् ।
कागजमा देखाइएको कम रकम मात्र बैंकको प्रतीतपत्रमार्फत भुक्तानी गरिन्छ भने बाँकी रहेको वास्तविक मूल्यको ठूलो हिस्सा विदेशी उत्पादक वा निर्यातकर्तालाई गुपचुप रूपमा हुण्डी सञ्जालमार्फत पठाउने गरिन्छ ।
यसरी एकैपटक राज्यको राजस्व ठग्ने र अवैध बाटोबाट पुँजी पलायन गराउने दुवै काममा हुण्डी निर्बाध प्रयोग भइरहेको छ । नेपालको अर्थतन्त्रको विशाल हिस्सा अझै पनि बैंकिङ प्रणालीबाहिर अर्थात् नगदमा चलिरहेको छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एसिया प्रशान्त समूह (एपीजी) को पारस्परिक मूल्याङ्कन प्रतिवेदनले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ५० प्रतिशत हिस्सा अनौपचारिक र नगदमा आधारित अर्थतन्त्र रहेको औंल्याएको छ ।
नियमन र निगरानीबाहिर रहेको यही विशाल नगदको भण्डार हुण्डी सञ्चालकहरूका लागि वरदान सावित भएको छ । विदेशबाट पठाइएको पैसाको भुक्तानी देशभित्रै दिन हुण्डीवालालाई कुनै बैंकिङ झन्झट बेहोर्नु पर्दैन; बजारमा छ्यापछ्याप्ती घुमिरहेको यही नगद तरलता प्रयोग गरेर उनीहरूले भित्रभित्रै भुक्तानी मिलाउने र खुद्रा पसल तथा १० लाखको सीमा छल्ने स–साना नगद जम्मामार्फत बैंकमा समेत छिराउने गरेका छन् ।
यसैगरी भारतसँगको १ हजार ७५१ किलोमिटर लामो खुला र अनियन्त्रित सिमाना हुण्डी कारोबारको भौतिक मेरुदण्ड बनेको छ । राहदानी वा कडा वित्तीय जाँचबिना नै मानिस र सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले सीमापारिबाट नगद ओसार्न गिरोहलाई कुनै कठिनाइ छैन ।
सीमावर्ती सहरहरूमा सक्रिय गिरोहहरूले नगद भरिया प्रयोग गरी भारतीय र नेपाली रुपैयाँ सहजै वारपार गराएर व्यापारिक हिसाब मिलान गर्ने गरेका छन् । यही खुला सिमानाको प्रत्यक्ष असर वित्तीय जानकारी एकाइको तथ्याङ्कमा समेत देखिएको छ, जहाँ हुण्डीसम्बन्धी कुल शंकास्पद उजुरीमध्ये ५३ प्रतिशत उजुरी मधेश प्रदेश र त्यसमा पनि सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारा र रौतहटजस्ता सीमावर्ती जिल्लामा केन्द्रित छन् ।
वीरगन्जमा रक्सौलबाट हुण्डीमार्फत भित्र्याइएको २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार पक्राउ पर्नुले खुला सीमाको दुरुपयोग कति भयावह छ भन्ने पुष्टि गर्छ । प्रत्येक वर्ष लाखौं नेपाली युवा रोजगारीको खोजीमा बिदेसिने क्रम तीव्र छ ।
खाडी मुलुक र मलेसियामा मात्र सीमित नरही अहिले दक्षिण कोरिया, जापान, युरोप र रुससम्म नेपाली श्रमिकहरूको विशाल समुदाय फैलिएको छ । तीमध्ये ठूलो संख्याका श्रमिकहरू बैंकिङ पहुँच कमजोर भएका क्षेत्रमा कार्यरत छन् भने धेरैमा औपचारिक वित्तीय प्रणालीबारे पर्याप्त साक्षरता समेत छैन ।
कतिपय गन्तव्य मुलुकमा कागजी झन्झट र बैंकसम्म पुग्ने समयको अभाव हुँदा श्रमिकहरूका लागि घरदैलोमै आएर पैसा लिइदिने र नेपालमा तुरुन्तै परिवारको हातमा पु¥याइदिने हुण्डी सेवा नै सहज र स्वाभाविक विकल्प बन्न पुगेको छ ।
रुस, भारत र नेपाल जोडेर एकै परिवारले ह्वाट्सएपमा नोटको सिरियल नम्बर पठाउँदै १ अर्ब ९९ करोडको हुण्डी चलाएको घटनाले श्रमिकको कमाइ कसरी अवैध सञ्जालमा फस्छ भन्ने उदाहरण पेस गरेको छ ।
नेपालमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) र अनलाइन जुवा तथा बेटिङ कानुनी रूपमा पूर्णतः प्रतिबन्धित छन् ।
तर, प्रतिबन्ध लगाउँदैमा देशभित्र यस्ता प्लेटफर्मप्रतिको आकर्षण र माग भने घटेको छैन; बरु यसले पैसाको सम्पूर्ण कारोबारलाई पूर्ण रूपमा भूमिगत धकेलिदिएको छ । नेपालका स्थानीय बैंक खाता, एटीएम वा क्रेडिट कार्ड प्रयोग गरेर क्रिप्टो किन्न वा विदेशी अनलाइन बेटिङ खातामा पैसा हाल्न असम्भव भएपछि प्रयोगकर्ताहरू शतप्रतिशत हुण्डी दलालमा निर्भर हुन पुगेका छन् ।
स्थानीय एजेन्टले डिजिटल वालेटमार्फत जुवा वा क्रिप्टोको पैसा संकलन गर्ने र हुण्डी तथा यूएसडीटी (टेथर) जस्ता स्टेबलक्वाइनको माध्यमबाट विदेशमा हिसाब मिलान गर्ने प्रवृत्ति आकासिएको छ, जसको प्रमाणका रूपमा काठमाडौंमा १ अर्ब ९८ करोडभन्दा बढीको हुण्डी र क्रिप्टो बहीखातासहितको विशाल गिरोह पक्राउ परेको घटनालाई लिन सकिन्छ ।



