१२ मंसिर , काठमाण्डौ ।
गृहमन्त्री सुधन गुरुङ यतिबेला कोशी प्रदेशको दौडाहामा छन् । गुरुङ समुदायको संस्था ‘तमु छोंज धिं’को राष्ट्रिय परिषद् भेलामा सहभागी हुन यता आएका बेला उनले सोही मौकामा राति नै सीमानाकादेखि कोसी अस्पतालसम्मको निरीक्षण गरेका छन् ।
शुक्रबार बेलुका ७ बजे विराटनगर विमानस्थल ओर्लिएका उनले राति पनि विश्राम लिएनन् । गएराति अबेरसम्म स्कुटरमा चढेर उनी सीमा क्षेत्रदेखि कोसी अस्पतालको खाली गराइएको जग्गासम्मको आकस्मिक निरीक्षणमा निस्किएका थिए । शुक्रबार विमानस्थलमा गृहमन्त्री गुरुङलाई मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वागत गरेका थिए ।

विमानस्थलबाट सिधै कोसी प्रदेश प्रहरी कार्यालय पुगेका गुरुङले त्यहाँ सुरक्षा अधिकारीहरूसँग राति अबेरसम्म छलफल गरेका थिए । लगत्तै उनी रानी क्षेत्रतिर हनिएका थिए । आफैँ स्कुटर चढेर गृहमन्त्री अघि बढेपछि प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनाल, सशस्त्र प्रहरी बलका डीआईजी, मोरङका एसपीलगायत सुरक्षा टोली पछि लागेको थियो ।
उक्त टोलीले राति नै नेपाल–भारत सीमा क्षेत्र तथा जोगवनी नाकाको स्थलगत अवलोकन गरेको हो । सीमा क्षेत्रको निरीक्षणपछि विराटनगर बजारतर्फ फर्किएका गृहमन्त्री गुरुङले मध्यराति कोसी अस्पतालको अतिक्रमित जग्गाको समेत निरीक्षण गरे । उक्त जग्गा दुई महिनाअघि मात्र खाली गराइएको थियो ।
विराटनगरबाट आज बिहान उनी सुनसरीको धरानतर्फ प्रस्थान गरेका थिए । धरानमा उनी कुन कार्यक्रम वा भेटघाटमा सहभागी हुनेछन् भन्ने खुलाइएको थिएन । त्यसपछि उनी इटहरी फर्किएका छन् । प्रहरीका अनुसार, इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा तमु धोंज धि जिल्ला कार्यसमितिको सहयोगमा आयोजित राष्ट्रिय परिषद् भेलाको उद्घाटन गरेपछि गृहमन्त्री गुरुङ पुनः विराटनगर फर्कनेछन् ।
उनलाई शुक्रबार बेलुका पनि विराटनगर विमानस्थलमा गुरुङ समुदायका प्रतिनिधिहरूले स्वागत गरेका थिए । सोहीक्रममा विमानस्थलमा सञ्चारकर्मीहरूले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा जलेको भनिएको पैसाको अनुसन्धान कहाँ पुग्यो भनी प्रश्न गरेका थिए ।
जवाफमा गृहमन्त्री गुरुङले ’अनुसन्धानको विषय सबैलाई जानकारी गराइरहनु पर्ने विषय नभएको’ बताएका थिए । उनको आइतबार काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ । यसैबीच गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ।
मन्त्रालयको मिति २०८३ मङ्सिर ११ गतेको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो । ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर भएका छन् ।
मन्त्रालयको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिवमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ।
यसैगरी, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत अन्य ५ जना सहसचिवहरूलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। जसअनुसार गिता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्र कुमार मिश्रलाई दैलेख, विमल प्रसाद बराललाई महोत्तरी, शिव प्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच उता सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले उनीहरूलाई निलम्बन गरी थप अनुसन्धान सुरु गरेको हो ।
निलम्बनमा पर्नेहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतको अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान तोप बहादुर खड्का रहेका छन् ।
उनीहरूले ट्राफिक प्रहरीको पोशाकमै ड्युटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग रकम असुलिरहेको भिडियो मंसिर १० गते फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
घटनामा संलग्न दुवै जना प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मंसिर ११ गतेदेखि नै लागू हुने गरी निलम्बन गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए। निलम्बित दुवै जनामाथि थप छानबिन तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



