१२ मंसिर , काठमाण्डौ ।
विनाशकारी भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता भएका व्यक्तिहरुलाई मृत्तक घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ। यस्ता व्यक्तिहरुमा स्वदेशीसहित विदेशीहरु पनि छन् । विदेशी नागरिकमध्ये हालसम्म ६२३ जनाको विवरण प्राप्त भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न मुलुकका सम्बन्धित निकायबाट प्राप्त विवरणका आधारमा बेपत्ता विदेशी नागरिकको तथ्यांक अद्यावधिक गरेको हो । प्राधिकरणका अनुसार हालसम्म १९ मुलुकका ६२३ विदेशी नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको छ ।

यसमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । त्यस्तै, ४८ जिल्लाबाट ३ हजार ९१५ नेपाली नागरिक बेपत्ता भएको विवरण पुष्टि भई आएको छ । यसरी हालसम्म प्राप्त विवरणअनुसार बेपत्ता नेपाली र विदेशी नागरिकको कुल संख्या ४ हजार ५३८ पुगेको छ ।
प्राधिकरणका अनुसार बेपत्ता विदेशी नागरिकमध्ये भारतका २१३ जना रहेका छन् । त्यसपछि चीनका ८५ र अमेरिकाका ६९ नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको छ । युक्रेन र मलेसियाका समान ५४–५४, अस्ट्रेलियाका ३३, बेलायतका ३२ तथा क्यानडाका २७ नागरिकको विवरण प्राप्त भएको छ ।
त्यस्तै, रुसका ११, दक्षिण कोरिया र सिंगापुरका ९–९, जर्मनीका ८, दक्षिण अफ्रिकाका ६ तथा फ्रान्सका ४ नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । इटाली, हंगेरी, बेल्जियम र काजकिस्तानका २–२ तथा बेलारुसका एक नागरिकको विवरण पनि प्राप्त भएको छ ।
प्राधिकरणका अनुसार केही मुलुकबाट बेपत्ता नागरिकको विवरण प्राप्त हुन बाँकी रहेको छ । लाट्भिया, जापान, न्युजिल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, इस्टोनिया, फिनल्यान्ड, इजरायल, लिथुआनिया, फिलिपिन्स, स्विडेन, स्विट्जरल्यान्ड र भियतनामलगायत मुलुकबाट विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।
यसकारण आगामी दिनमा थप विवरण प्राप्त भएसँगै बेपत्ता विदेशी नागरिकको संख्या अद्यावधिक हुन सक्ने देखिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीले सम्बन्धित मुलुकका निकायबाट प्राप्त विवरणका आधारमा बेपत्ता व्यक्तिको तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिएका छन् ।
यसबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बेपत्ता भएका व्यक्तिलाई मृत्यु घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने कानुनी व्यवस्था छ ।
सोही व्यवस्थाका आधारमा समितिले बेपत्ता व्यक्तिहरूको कानुनी स्थिति स्पष्ट गर्न सरकारसमक्ष सिफारिस गरेको हो । यद्यपि, समितिले सिफारिस गरेको भए पनि सरकारले मृत्यु घोषणा गर्ने अन्तिम निर्णय गरिसकेको विवरण सार्वजनिक भएको छैन ।
बेपत्ता विदेशी नागरिकको विवरण यकिन गर्न प्राधिकरणले सम्बन्धित मुलुकका नेपालस्थित कूटनीतिक नियोग वा नेपाल हेर्ने जिम्मेवारी पाएका नियोगसँग समन्वय गरेको थियो । प्राधिकरणले सम्बन्धित नियोगबाट प्राप्त सूचीका आधारमा थप दाबी पेस गर्न दुई चरणमा सात–सात दिने सूचना प्रकाशित गरेको जनाएको छ
यस प्रक्रियाबाट प्राप्त विवरणलाई आधार मानेर बेपत्ता विदेशी नागरिकको तथ्यांक तयार गरिएको हो । बेपत्ता व्यक्तिलाई कानुनी रूपमा मृत्यु घोषणा गर्ने निर्णयले प्रभावित परिवारका लागि मृत्यु दर्ता, उत्तराधिकार, बीमा दाबी तथा राहत र क्षतिपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाउन महत्त्वपूर्ण आधार तयार गर्न सक्छ ।
तर, मृत्यु घोषणापछि उपलब्ध हुने राहत, क्षतिपूर्ति तथा अन्य सुविधासम्बन्धी निर्णय र कार्यान्वयन प्रक्रिया भने सम्बन्धित कानुन तथा सरकारी व्यवस्थामा निर्भर रहनेछ । यसैबीच सरकारले तिहार तथा छठपछिको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट सम्पादन भएका प्रमुख कामको विवरण सार्वजनिक गरेको छ ।
सरकारका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ । उक्त रकममध्ये १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । यसैबीच गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरुको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरुको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो ।
वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए ।
यस अन्तर्गत पितृहरुको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरुको तर्पण र नारायणबलि लगायतका कार्य हुनेछन् । सामूहिक रुपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरुका आफन्त कर्ताका रुपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरुको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए ।
यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरुहुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो ।
सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए ।



