नेपालका नेता मात्र होइन, कर्मचारी पनि कम छैनन् भ्रष्टाचार गर्न

११ मंसिर २०८३, शुक्रबार
Share this
729shares

११ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपालमा सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, प्रधानमन्त्री फेरिन्छन्, तर एउटा सरकार भने निरन्तर चलिरहन्छ– निजामती प्रशासन। यही प्रशासनलाई देशको स्थायी सरकार भनिन्छ। राजनीतिक नेतृत्वले नीति बनाउँछ, निर्णय गर्छ र सरकार सञ्चालनको जिम्मेवारी लिन्छ भने त्यसलाई कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी कर्मचारीतन्त्रको हुन्छ ।

त्यसैले कर्मचारी प्रशासनलाई राज्य सञ्चालनको मेरुदण्ड मानिन्छ। तर यही स्थायी सरकारको नेतृत्व गर्ने सर्वोच्च पद मुख्यसचिवसमेत भ्रष्टाचारसम्बन्धी अनुसन्धानको दायरामा तानिन थालेपछि नेपालको प्रशासनिक प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।

Advertisement

मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको भनिएको प्रकरणमा तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। प्रहरीले उनको घरबाट दुईवटा ल्यापटप बरामद गरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा श्रमिकबाट संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न थिए। यही प्रकरणमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका पूर्वसचिव तथा अन्य अधिकारीसमेत पक्राउ परिसकेका छन्।

प्रहरीको आरोपअनुसार मलेसिया रोजगारीमा जाने सात लाखभन्दा बढी नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा तोकिएको शुल्कबाहेक प्रतिव्यक्ति थप १०० मलेसियन रिंगिट उठाइएको थियो। यसरी संकलित रकममध्ये एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको अनुसन्धानमा उल्लेख छ।

यो आरोप प्रमाणित भएमा त्यसको अर्थ केही व्यक्तिले आर्थिक लाभ लिनु मात्रै होइन, वैदेशिक रोजगारीका लागि ऋण खोजेर विदेश जान बाध्य नेपाली श्रमिकमाथि राज्यकै संरक्षणमा आर्थिक भार थपिएको गम्भीर विषय हो। यहाँ मुख्य प्रश्न एकनारायण अर्याल दोषी हुन् वा होइनन् भन्ने मात्रै होइन।

अदालतबाट दोष प्रमाणित नभएसम्म उनी निर्दोष मानिन्छन्। तर एउटा मन्त्रालयको सचिव हुँदै देशको मुख्यसचिव बनेका व्यक्तिसमेत कुनै समयको निर्णय प्रक्रियाका कारण अनुसन्धानमा तानिनुपर्ने अवस्था किन आयो? राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको जिम्मेवारी कहाँ छुट्टिन्छ?

मन्त्रीले गरेको निर्णय कार्यान्वयन गर्ने कर्मचारीको कानुनी तथा नैतिक दायित्व कति हुन्छ? र गलत निर्णयमा हस्ताक्षर गर्ने वा त्यसलाई अघि बढाउने अधिकारीलाई राजनीतिक संरक्षणबाट कसरी अलग राख्ने? अहिले उठेका मूल प्रश्न यिनै हुन्।

नेपालको निजामती इतिहासमा मुख्यसचिव पदमा पुगेका व्यक्ति भ्रष्टाचार अनुसन्धानमा तानिएको यो पहिलो घटना भने होइन। २०८१ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ व्यक्ति र एउटा कम्पनीविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले उक्त प्रकरणमा ३८ करोड ६७ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेको थियो। बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको नेपालको निजामती इतिहासमा त्यो पहिलो घटना थियो। एउटा मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको दुई वर्ष नबित्दै अर्का पूर्वमुख्यसचिव अनुसन्धानका क्रममा पक्राउ पर्नुले प्रशासनको उच्च तहमा जवाफदेहिताको प्रश्नलाई थप गम्भीर बनाएको छ।

मुख्यसचिव भनेको केवल कर्मचारी प्रशासनको प्रमुख होइन। मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनदेखि मन्त्रालयहरूबीच समन्वय, प्रशासनिक नेतृत्व र सरकारको संस्थागत निरन्तरतासम्म उसको भूमिका हुन्छ। यस्तो पदमा पुग्ने व्यक्तिको निर्णय र आचरणले समग्र कर्मचारीतन्त्रको विश्वसनीयतामै प्रभाव पार्छ।

नेपालका ठूला भ्रष्टाचार काण्डहरू हेर्दा राजनीतिक नेतृत्वसँगै प्रशासनिक अधिकारीहरूको नाम पनि पटकपटक जोडिएको देखिन्छ। ललिता निवास जग्गा प्रकरण यसको एउटा उदाहरण हो। सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउने प्रक्रियामा राजनीतिक नेतृत्व, कर्मचारी, भूमाफिया र बिचौलियाबीचको सम्बन्धबारे अनुसन्धान भएको थियो।

पूर्वसचिव, सहसचिव तथा मालपोत र नापी प्रशासनका अधिकारीहरूसमेत अनुसन्धान र मुद्दाको दायरामा आएका थिए। यसले सरकारी कागजात, निर्णय र प्रशासनिक प्रक्रियालाई दुरुपयोग गर्न कर्मचारीको संलग्नता वा सहयोग कति निर्णायक हुन सक्छ भन्ने देखाएको छ।

त्यसैगरी, नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको छानबिन र महालेखा परीक्षकका प्रतिवेदनले खरिद प्रक्रियामा गम्भीर प्रश्न उठाएका थिए। विमान खरिदको मूल्य, भुक्तानी प्रक्रिया, सम्झौता र जिम्मेवारीका विषयमा तत्कालीन मन्त्रीदेखि निगमका पदाधिकारी र कर्मचारीसम्मको भूमिका विवादमा परेको थियो।

तर संसदीय छानबिनमा नाम आउनु र अदालतबाट भ्रष्टाचार प्रमाणित हुनु फरक विषय हुन्। त्यसैले यस्ता प्रकरणमा कसलाई कुन निकायले के आरोप लगायो र अन्तिम कानुनी अवस्था के भयो भन्ने छुट्याएर हेर्नु आवश्यक छ। सुडान घोटाला पनि प्रहरी प्रशासन र राजनीतिक नेतृत्वबीचको जिम्मेवारीबारे चर्चा हुने अर्को चर्चित प्रकरण हो।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाल प्रहरीका लागि आवश्यक सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै तत्कालीन प्रहरी नेतृत्व र अन्य अधिकारीमाथि भ्रष्टाचार मुद्दा चलेको थियो। विशेष अदालत र सर्वोच्च अदालतबाट विभिन्न प्रतिवादीको हकमा फैसला भएका थिए।

यस प्रकरणले सुरक्षा निकायभित्रको खरिद प्रक्रिया र उच्च अधिकारीको जिम्मेवारीमाथि प्रश्न उठाएको थियो। यी घटनाहरूले एउटा महत्त्वपूर्ण तथ्य उजागर के गर्छ भने भ्रष्टाचार केवल राजनीतिक निर्णय गर्ने तहमा मात्र सीमित हुँदैन। सरकारी निर्णय तयार पार्ने, त्यसको कानुनी आधार जाँच्ने, आर्थिक प्रक्रिया अघि बढाउने, भुक्तानी स्वीकृत गर्ने र कार्यान्वयन गर्ने कर्मचारीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

गलत निर्णयमा कर्मचारीले दिएको प्रशासनिक वैधता नै अनियमितताको आधार बन्न सक्छ। कर्मचारीतन्त्रको संलग्नता देखिएको अर्को ठूलो प्रकरण नक्कली भुटानी शरणार्थी काण्ड हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल्ने संगठित योजनामा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसमेत संलग्न रहेको अभियोग लागेको थियो।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका अधिकारी र बिचौलियाहरू मुछिएका थिए। यस प्रकरणमा २०८३ असारमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो।

अदालतले पाण्डेलाई चार वर्ष कैद सजाय सुनाएको थियो। पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पनि चार वर्ष र पूर्वगृहमन्त्री खाणलाई दुई वर्ष कैद सजाय सुनाइएको थियो। यसले सरकारी कागजात र प्रशासनिक अधिकार दुरुपयोग गरेर कसरी संगठित अपराधलाई सहयोग पुग्न सक्छ भन्ने देखाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीको संख्या हेर्दा पनि सार्वजनिक प्रशासनप्रतिको अविश्वास र भ्रष्टाचारसम्बन्धी गुनासोको व्यापकता बुझ्न सकिन्छ। आर्थिक वर्ष २०८१÷८२ मा आयोगमा ३७ हजार २६ उजुरी परेका थिए। तीमध्ये २९ हजार ७०३ उजुरी फछ्र्योट भएका थिए।

अर्थात् उजुरी फछ्र्योट दर ८०.२ प्रतिशत पुगेको थियो। तर उजुरी फछ्र्योट हुनु र भ्रष्टाचार प्रमाणित हुनु एउटै कुरा होइन। आयोगले विशेष अदालतमा दायर गर्ने मुद्दा र अदालतबाट हुने अन्तिम फैसलालाई छुट्टै मूल्यांकन गर्नुपर्छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको सुशासन तथा सदाचारसम्बन्धी प्रतिवेदनले पनि पछिल्लो पाँच वर्षमा विशेष अदालतमा दायर भएका भ्रष्टाचार मुद्दाको संख्या अघिल्लो पाँच वर्षको तुलनामा घटेको देखाएको छ। आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म अख्तियारले ७४४ मुद्दा दायर गरेको थियो भने त्यसअघिको पाँच वर्षमा १ हजार २८४ मुद्दा दायर भएका थिए।

यसले अनुसन्धान गर्ने निकायको क्षमता, मुद्दाको प्राथमिकता र भ्रष्टाचार नियन्त्रणको प्रभावकारितामाथि थप बहस आवश्यक रहेको देखाउँछ। नेपालको प्रशासनिक संरचनामा एउटा स्थापित प्रवृत्ति छ। सरकार परिवर्तन भएपछि राजनीतिक नेतृत्व फेरिन्छ, तर प्रशासनिक नेतृत्व प्रायः निरन्तर रहन्छ।

मन्त्रालयका सचिव, सहसचिव र अन्य उच्च अधिकारीले विभिन्न सरकारसँग काम गर्छन्। त्यसैले कर्मचारीतन्त्रलाई राजनीतिक नेतृत्वको दबाबबाट मुक्त राख्नुपर्ने आवश्यकता छ। तर राजनीतिक नेतृत्वले गरेको गलत निर्णयलाई प्रशासनिक अधिकारीले आँखा चिम्लेर कार्यान्वयन गर्ने हो भने स्थायी सरकारको अवधारणाकै औचित्य कमजोर हुन्छ।

मन्त्रीले गलत निर्णय गरे कर्मचारीले त्यसको कानुनी आधार खोज्नुपर्छ। निर्णय कानुनविपरीत छ भने त्यसमा आपत्ति जनाउनुपर्छ। गलत काम रोक्ने जिम्मेवारी कर्मचारीको पनि हो। त्यसैगरी कर्मचारीले नियमविपरीत काम गरेको अवस्थामा मन्त्री वा राजनीतिक नेतृत्वले संरक्षण गर्नु हुँदैन।

निर्णय गर्ने, स्वीकृत गर्ने र कार्यान्वयन गर्ने सबैको जिम्मेवारी उनीहरूको वास्तविक भूमिकाका आधारमा निर्धारण हुनुपर्छ। अर्कोतर्फ, कर्मचारीलाई राजनीतिक दबाबबाट मुक्त राख्ने नाममा उनीहरूलाई जवाफदेहिताबाट उन्मुक्ति दिन मिल्दैन।

कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा राजनीतिक हस्तक्षेप रोक्नु जति आवश्यक छ, प्रशासनिक निर्णयमा पारदर्शिता र कानुनी उत्तरदायित्व कायम गर्नु पनि उत्तिकै आवश्यक छ। भ्रष्टाचारको अन्त्य भाषणबाट होइन, निर्णय गर्ने र निर्णय कार्यान्वयन गर्ने दुवै तहलाई जवाफदेही बनाउने प्रणालीबाट मात्र सम्भव छ।

स्थायी सरकारको नेतृत्व गर्ने मुख्यसचिवदेखि सामान्य कर्मचारीसम्म कानुनभन्दा माथि छैनन् भन्ने मान्यता व्यवहारमै स्थापित हुनुपर्छ। नत्र राजनीतिक सरकार फेरिरहनेछ, मन्त्री फेरिरहनेछन्, तर भ्रष्टाचारको जालो भने स्थायी सरकारभित्रै सुरक्षित फैलिदै गइरहने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top