विराटनगर,जेठ २८
सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङगेललाई काठमाडौं पुर्याइएको छ ।
मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई आज बिहान सम्पत्ति शुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि झिकाएको हो ।
सम्पत्ति शुद्धिकरण विभागले गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सूरु गरेको हो । तीनै जना अभियुक्तहरुलाई आजैै ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको छ ।
पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन । २०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी .(प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविट र डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानविन समितिको अनुसन्धानबाट खुल्न आएको छ ।
३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तलाई विभागमा उपस्थित गराएपछि केन्द्रीय कारागार चलान गरिएको छ ।