२९ फागुन, एजेन्सी ।
कोरोना भाइरसले आक्रान्त इटालीमा पुनः प्रतिबन्धात्मक नियम लागु हुने भएको छ ।
कोभिड संक्रमणको नयाँ लहरको जोखिम बढ्दै गएपछि सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् ।
प्रधानमन्त्री मारिओ द्राघीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि सोमबारदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको हो । इस्टरका बेला अप्रिल ३ देखि ५ सम्म पूर्ण रुपमा बन्द गरिने छ ।
एक वर्ष पहिले इटालीले महामारी नियन्त्रणमा लिनका लागि पहिलोपटक राष्ट्रिय तहमा लकडाउन लागु गरेको थियो । अहिले पनि इटालीमा संक्रमण तीव्र भइरहेको छ ।
इटालीमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । बेलायतपछि युरोपमा सबैभन्दा धेरैको ज्यान इटालीमा गएको हो । इटालीमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुस्त भइरहेको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोपका कारण ब्लड क्लट बन्ने जोखिम रहेको भन्दै इटालीसहित युरोपका बुल्गेरिया, डेनमार्क र नर्वेमा पनि तत्कालका लागि सो खोप रोकिउको छ ।
शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोपका कारण ब्लड क्लट बन्ने प्रमाण नभेएिको बताएको छ । उसले खोप अभियान नरोक्न आग्रह गरेको छ ।
सोमबारदेखि इटालीका रोम र मिलानसहित आधा भन्दा बढि क्षेत्रमा विद्यालय, पसल तथा रेस्टुरेन्ट बन्द हुने छन् । अत्यावश्यक कामका लागि बाहेक स्थानीय बासिन्दा बाहिर निस्कन पाउने छैनन् ।
इटालीमा अहिलेसम्म झण्डै ३२ लाख मानिसमा संक्रमण पुष्टि भएको छ ।
