१५ असार , काठमाण्डौ।
विश्वकप २०२६ सुरु भएको दुई साताभन्दा बढी भइसकेको छ । समूह चरणका खेलहरुमा जादुमयी र नाटकीय परिणामहरु देखिएपछि अब प्रतियोगिता नकआउट चरणमा प्रवेश गरिसकेको छ । राउन्ड अफ ३२ को पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा अन्तिम १६ मा प्रवेश गरेको छ ।
यस्तै आज राति एसियाको पावर हाउस जापानले ५ पटकको विश्व विजेता ब्राजिलको सामना गर्न लागेको छ । खेलहरु यसरी रोमाञ्चक बन्दै जाँदा घानाका अध्यात्मिक गुरु जो निकै चर्चित तान्त्रिक हुन्, नाना क्वाकु बोनसामले सन् २०२६ को फिफा विश्वकपलाई लिएर अर्को एउटा भविष्यवाणी गर्दै फेरि नयाँ बहस सिर्जना गरेका छन् ।
खासगरी यसले पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डोका फ्यानलाई केही राहत पनि दिएको छ । केही समयअघि मात्रै इंग्ल्याण्डका कप्तान ह्यारी केनमाथि ‘जादुमयी शक्ति’ प्रयोग गरेको दाबी गरेका बोनसामले अब क्रिस्टियानो रोनाल्डो र पोर्चुगलले २०२६ को विश्वकप जित्ने भाग्य लेखिएको बताएका छन् ।
बोनसामका अनुसार पोर्चुगलको जित फुटबल मैदानभन्दा बाहिर नै तय भइसकेको छ । रिपोर्टहरूका अनुसार उनले भनेका छन्, ‘यो विश्वकप पोर्चुगल र क्रिस्टियानो रोनाल्डोको लागि हो । उनीहरूले नै यो जित्नेछन् ।’ बोनसामले पोर्चुगलले ‘अध्यात्मिक संसार’ मा यो प्रतियोगिता जितिसकेको र रोनाल्डो अब ढुक्क भए हुन्छ किनभने ‘उनको समय आइसकेको छ’ भनि दाबी गरेका छन् ।
फुटबलको नतिजालाई अध्यात्मिक शक्तिसँग जोड्ने उनको लामो इतिहासका कारण उनको यो पछिल्लो टिप्पणीले फुटबल फ्यानहरूमाझ नयाँ चर्चा र बहस सुरु गरेको छ । बोनसामको यो पछिल्लो भविष्यवाणी घाना र इंग्ल्याण्डबीचको विश्वकप भिडन्तअघि आफूले ‘ह्यारी केनमाथि काम गरिरहेको’ भनी चर्चामा आएको केही दिनपछि आएको हो ।
खेलअघि ‘डेली स्टार’सँग कुरा गर्दै उनले भनेका थिए, ‘मैले पहिले पनि आफ्नो क्षमता देखाइसकेको छु, त्यसैले उनलाई रोक्न मैले के गर्नुपर्छ भन्ने मलाई थाहा छ।’ पछि इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि धेरै प्रशंसकहरूले उनको पुरानो कमेन्टलाई सम्झिँदै त्यसको महत्त्वबारे अड्कलबाजी गर्न थालेका थिए ।
यद्यपि, बोनसामले अहिले इंग्ल्याण्डका कप्तानप्रति आफ्नो अडान केही नरम बनाएका छन् र उनीहरूबीच कुनै व्यक्तिगत दुस्मनी नभएको बताएका छन् । उनले भने, ‘ह्यारी केन मेरो शत्रु होइनन्। मेरो एउटा सानो बच्चा छ, जसको नाम म चाँडै ह्यारी केनकै नामबाट राख्नेछु।’ उनले फेसबुकमा यो पनि पोस्ट गरेका छन् कि उनले अब केनलाई ‘मुक्त’ गरिदिनेछन् ताकि ती स्ट्राइकरले आफ्नो अर्को खेलमा गोल गर्न सकून् ।
नाना क्वाकु बोनसाम घानाका सबैभन्दा विवादास्पद सार्वजनिक व्यक्तित्वमध्ये एक हुन् । उनी आक्रामा तीनवटा शक्तिपीठ चलाउँछन् र आफूलाई एक अफ्रिकी परम्परागत पुजारी र जडीबुटी विशेषज्ञ भन्छन्, जसले अध्यात्मिक मार्गदर्शन र परम्परागत उपचार सेवा दिने गर्दछन् ।
फुटबल प्रेमीहरूले बोनसामलाई सन् २०१४ को फिफा विश्वकपबाट पनि सम्झिन सक्छन्, जतिबेला उनले घाना र पोर्चुगलको खेलअघि क्रिस्टियानो रोनाल्डोको चोटको समस्यामा आफ्नो ‘अदृश्य शक्ति’ को हात रहेको दाबी गरेका थिए । त्यसबेला उनले रोनाल्डोलाई चोटमार्फत खेलबाट बाहिर राख्न चाहेको बताएका थिए ।
बोनसामका यी अध्यात्मिक दाबीहरूको कुनै वैज्ञानिक प्रमाण नभए तापनि, पोर्चुगल र रोनाल्डोले अन्ततः २०२६ को विश्वकप ट्रफी उचाल्न सक्लान् त भन्ने विषयमा फुटबल फ्यानहरूमाझ उनको यो भविष्यवाणीले फेरि ठूलो चर्चा बटुलेको छ ।
यसबीच विश्वकप अहिले आफ्नो सबैभन्दा रोमाञ्चक चरणमा प्रवेश गरेको छ । पहिलो नकआउटमा क्यानडले दक्षिण अफ्रिकामाथि १–०को जित निकाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो राष्ट्र बनेको छ । यता रोनाल्डोको टोली पोर्चुगलले पनि आफ्नो दाबेदारी कायम राखेको छ ।
समूह ‘के’ मा मिश्रित नतिजाका बाबजुद नकआउट चरणमा प्रवेश गरेको रोबर्टो मार्टिनेजको टोलीलाई यसपटक विश्वकै उत्कृष्ट मध्येको एक मिडफिल्ड र क्रिष्टियानो रोनाल्डोको अनुभवले पहिलो पटक ऐतिहासिक उपाधि दिलाउन सक्ने अवसरका रुपमा हेरिएको छ । तर समूह चरणमा पोर्चुगलले केही उतारचढावपूर्ण खेलहरू खेल्यो ।
डीआर कंगोसँग १–१ को बराबरी र कोलम्बियासँगको कठिन गोलरहित संघर्षपछि टोलीको व्यापक आलोचना पनि गरेका छन । तर, उज्बेकिस्तानमाथि हात पारेको ५–० को शानदार जितले पोर्चुगलको वास्तविक सामथ्र्यलाई विश्वसामु छर्लङ्ग पारिदिएको समर्थकहरुको दाबी छ ।
सोही खेलमा ४१ वर्षको उमेरमा पनि रोनाल्डोले दुई गोल गर्दै फुटबल इतिहासमा आफ्नो नाम अझ गाढा अक्षरले लेखाए । देश र क्लबका लागि ९७५ गोल गरेका रोनाल्डो ६ वटा फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो र एक मात्र खेलाडी बनेका छन्।
यस्तै मेस्सी र रोनाल्डो बीचको ‘गोट’ बहसलाई बिट मार्न यो विश्वकप रोनाल्डोका लागि अन्तिम र निर्णायक अवसर हो । मेस्सीले ३५ वर्षको उमेरमा प्राप्त गरेको सफलता जस्तै ४१ वर्षका रोनाल्डोले पनि आलोचनालाई शक्तिमा बदल्दै टोलीलाई स्वर्ण पदक दिलाउन सक्ने क्षमता राख्छन् ।
पोर्चुगलको अर्को बलियो पक्ष यसको मिडफिल्ड लाइनअप हो, जसलाई ‘द गार्डियन’ र ‘ईएसपीएन’ले टुर्नामेन्टकै उत्कृष्ट मानेका छन् । ब्रुनो फर्नान्डेजको रचनात्मकता, बर्नार्डो सिल्भाको बल नियन्त्रण र युवा स्टारहरू भिटिन्हा तथा जोआओ नेभेसको ऊर्जाले टोलीलाई रक्षात्मक र आक्रामक दुवै पक्षमा मजबुत बनाएको छ ।
राफायल लियो र पेड्रो नेटोजस्ता तीव्र गतिका विङ्गरहरूले रोनाल्डोका लागि पर्याप्त अवसरहरू सिर्जना गरिरहेका छन् भने ब्रुनो फर्नान्डेज पनि फर्ममा छन्। समग्रमा भन्दा युरोपेली क्लबहरूमा उत्कृष्ट लयमा रहेका खेलाडीहरूको पोर्चुगिज टिममा वर्चस्व छ।
प्रशिक्षक मार्टिनेजले रोनाल्डोलाई केवल एक स्ट्राइकरको रूपमा मात्र नभई टोलीको ‘रोल मोडल’ र मेन्टरका रूपमा प्रयोग गर्दै युवा र अनुभवको सही मिश्रण तयार पारेका छन् । विश्वकपमा उपाधिको लक्ष्यसम्म नपुगे पनि पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिप र गत वर्ष स्पेनलाई पराजित गर्दै नेसन्स लिगमा जित हात पारिसकेको छ ।
समूह चरण पार गरेर ३२ देशबीचको नकआउटमा प्रवेश गरेपछि पोर्चुगलका लागि यात्रा निकै चुनौतीपूर्ण छ । राउन्ड अफ ३२ मा अनुभवी लुका मोड्रीचको नेतृत्वमा रहेको क्रोएसियासँगको भेट पोर्चुगलका लागि एउटा ठूलो परीक्षा हुनेछ। यो अवरोध पार गरेमा आगामी चरणमा स्पेन÷बेल्जियम र सेमिफाइनलसम्म पुग्दा फ्रान्स÷जर्मनी वा नेदरल्याण्ड्स लगायतसँग भेटको बाटो तय हुने देखिएको छ ।
ईएसपीएन एफसीको विश्लेषणले यो ब्र्याकेटलाई प्रतियोगिताकै कठिन मार्ग भनेर व्याख्या गरे तापनि रोनाल्डोको अजेय मनोबल र मिडफिल्डको सिर्जनशीलताले पोर्चुगललाई सेमिफाइनल वा फाइनलसम्म पु¥याउन सक्ने सामथ्र्य राख्छ । फुटबलका अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार पोर्चुगलको उपाधि जित्ने सम्भावना अन्य हेभीवेट टिमहरूभन्दा कम छैन ।
कतिपयले अर्को समूहतर्फबाट मेस्सी नेतृत्वको अर्जेन्टिना र रोनाल्डो नेतृत्वको पोर्चुगलबीच फाइनल भिडन्त हुने अनुमान पनि गरिरहेका छन् । मेस्सी यो सिजनमा पनि उच्च फर्ममा देखिएका छन् र उनको नाममा ६ गोल छ भने लिगमा कुनै पनि खेलमा पराजित नभई अर्जेन्टिना राउन्ड अफ ३२ मा पुगेको छ ।
आलोचना र उतारचढावलाई पार गर्दै यदि मिडफिल्डले आफ्नो लय कायम राख्यो र रोनाल्डोले निर्णायक क्षणमा आफ्नो जादु देखाउन सके भने, २०२६ को विश्वकप इतिहासमा पोर्चुगलको पहिलो ऐतिहासिक विजयका रूपमा लेखिनेछ ।




