१५ चैत, काठमाडौँ । आइतबार फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइँदैछ । आइतबार हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदै छ ।
तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिएपनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ ।
यस वर्ष काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होलीपर्वसँग जोडिएको र पापी प्रवृति भएकी होलीकाको मृत्यु भएको खुशियालीमा परापूर्वकाल देखि होली मनाइँदै आएको कथन छ ।
चीर ठड्याइएको स्थान बसन्तपुरमा आइतबार दिउसो पुग्दा सर्वसाधारणहरुले उल्लाहसका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरु बसन्तपुर क्षेत्र पुगेर रङ खेलेका थिए ।
धालसिक्व मानन्धर सनाःगु खलका सचिव गजेन्द्रप्रसाद मानन्धरले आज बेलुका नै ठड्याइएको चीरलाई ढालिने बताए। चीर ढाल्नका लागि ७ बजेर ३७ मिनेटको साइत निस्किएको पनि उनले बताए ।
त्यसपछि गर्जोपल्टन सहितको टोलीले बसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडीखेल सम्म पु¥याएर राती ८ बजेर ५३ मिनेटमा चीरको विधिपूर्वक दाह गरिने पनि सचिव मानन्धरले बताए ।