विराटनगर , असार १
झन्डै ३५ अर्ब हाराहारीको प्रदेश एकको बजेट आउदै प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको लागि आज बजेट ल्याँउदैछ ।
सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आज ४ बजे प्रदेशसभामा बजेट पेश गर्ने कार्यक्रम तय भएको छ । प्रदेश सरकार बनेपछि पहिलो पटक पूर्णबजेट ल्याउन लागेको सरकारले करिब ३५ अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरेको छ ।
जसमा २९ अर्ब संघीय सरकारबाट प्राप्त अनुदान र राजश्व तथा ५ अर्ब बढि आन्तरिक आम्दानी हुने अनुमान प्रदेश सरकारको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारलाई संघीय सरकारले कुल २८ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
जसमा सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड ६७ हजार, वित्तीय समानीकरणअन्तर्गत ६ अर्ब ६१ करोड ३ हजार र राजस्व बाँडफाँडबाट ८ अर्ब ९३ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त हुनेछ । प्रदेश सरकारलाई घरजग्गा रजिस्ट्रेसन, पर्यटन, सवारी, मनोरञ्जन, विज्ञापन र प्राकृतिक स्रोधसाधनबाट राजस्व सङ्कलन गर्ने अधिकार रहेको छ ।
त्यसबाट न्युनतम् ५ अर्ब संकलन गर्ने मन्त्रालयको अनुमान छ । पहिलो संरचना भएकोले आन्तरिक स्रोतबाट यति नै कर संकलन हुन्छ भने यकिन भने भइनसकेको मन्त्रालयको भनाइ छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमा पूँजीगततर्फ झण्डै ८० प्रतिशत र चालुतर्फ करिब २० प्रतिशत बजेट विनियोजन गर्ने तयारी गरेको छ ।
कुल बजेटको ४० प्रतिशत हिस्सा भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी विनियोजन हुँदैछ ।