विराटनगर,असार ३
एक नम्बर प्रदेश सरकारले हिजो ३५ अर्ब ९३ करोड ६० लाख बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले संसदमा प्रस्तुत गरेको बजेट सकारात्मक भएको भन्दै नीजि क्षेत्रले प्रशंसा गरेका छन ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने पिठो छरेको जस्तो बजेट ल्याइएको भन्दै आपत्ति जनाएको छ । प्रदेशसभा भवन बाहिर बजेटको विषयमा प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले समग्र क्षेत्रलाई समेटेर बजेट ल्याइएको बताए ।
प्रदेश एकमा कृषि, पर्यटन र जल विद्युतको राम्रो सम्भावना रहेको र बजेटमा समेत यस क्षेत्रलाई प्राथमिकता दिइनु उत्साहजनक भएको उनको भनाइ छ । यस्तै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बजेटले कृषि, पर्यटन, भौतिक पूर्वाधार, उद्योग लगायतका सबै क्षेत्रलाइ समेटेको बताए । केन्द्रले समेट्न नसकेका उद्योगको समस्या समाधानमा प्रदेश बजेट अग्रसर देखिएको भन्दै उनले यसलाइ सफल कायान्वयन गर्न सके प्रदेशको समृद्धि पक्का हुने बताए ।
यता बजेटको विषयमा प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले सरकारले पिठो छरेजस्तो बजेट ल्याएको बताए । अत्याधिक कार्यक्रम उल्लेख गरिए अनुसार बजेट नभएको र राजस्वको अनुमानित अंक पुरा हुने कुनै आधार नदेखिएको उनको भनाइ छ । उद्योगको विकासका लागि प्रदेश सरकारले १ अर्ब ३० करोड विनियोजन गरेको छ ।
विराटनगर आसपासको क्षेत्रलाई औद्योगिक करिडोर र व्यापारिक हवको रुपमा विकास गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ । प्रदेश सरकारले गरिबि न्यूनिकरण गर्ने, प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने, भौतिक तथा सामाजिक पूर्वाधार तयार गरी समुन्नत, सुदृढ, स्वाधिन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यसहित बजेट ल्याएको बताएको छ ।