विराटनगर,असार ४
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।
आज भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी त्यसपछि अर्थमन्त्री पनि हुने छैनन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ ।
उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ ।
राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंलाई दुई वर्षको चिठ्ठा परेको छ । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ ।
राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो । जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य छन् । यसैगरी सुमन प्याकुरेल चार वर्ष र रमेश यादवको दुई वर्ष कार्यकाल तय भएको छ । राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो ।
प्रदेश ५ बाटै राष्ट्रियसभामा निर्वा्चित अनिता देवकोटा भने भाग्यमानीमा दरिएकी छन् । कांग्रेसबाट विजयी देवकोटाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी दाङकी हुन् ।
पार्वती रावलको कार्यकाल ६ वर्ष
प्रदेश ३ बाट निर्वा्चित नेकपाकी पार्वती रावल पनि भाग्यमानी मध्येकी एक हुन् । उनको कार्यकाल ६ वर्ष तय भएको छ । नेकपाकै उदया शर्मा पौडेल ४ वर्ष राष्ट्रियसभा सदस्यको रुपमा रहनेछिन् ।
कांग्रेसकी धनकुमारी खतिवडाको २ वर्ष, प्रदेश ४ कि बिन्दादेवी आलेको ६ वर्ष, दीपा गुरुङको २ र शान्ति अधिकारी जिसीको ४ वर्ष टुंगो लागेको छ ।