काठमाण्डौमा अक्सिमिटरको कालोबजारी गरेको आरोपमा सात जना पक्राउ

काठमाण्डौमा अक्सिमिटरको कालोबजारी गरेको आरोपमा सात जना पक्राउ

२८ बैशाख, काठमाडौं । काठमाण्डौमा अक्सिमिटरको कालोबजारीमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, महानगरीय अपराध अनुसन्धान महाशाखा र औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सात जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

पक्राउ पर्नेमा बल्खुमा रहेको बायोप्लस फर्माका सञ्चालक शिखर श्रेष्ठ, थापाथलीमा रहेको नानोटेक फर्माका सञ्चालक शेषकान्त अधिकारी, बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतीय नागरिक जगदीश प्रसाद रानासरिया रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

टोलीले उनीहरूको साथबाट सात सय ६५ थान अक्सिमिटर समेत बरामद गरेको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

न्यून गुणस्तरको अक्सिमिटरको बजार मूल्य झण्डै सात सय सय रुपैयाँ पर्ने भए पनि व्यापारीहरूले दुई हजार दुई सय रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा बजारमा अक्सिमिटरको माग पनि बढेको छ । अक्सिमिटर शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.