विराटनगर,असार ११
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले करारमा कर्मचारी राख्ने नाममा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले मनपरी गर्न खोजे पछि आफूले रोकेको बताएका छन ।
विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले स्थानीय तहमा अपुग रहेका कर्मचारी नियुक्ति करामा गर्दा नातावाद देखिएकोले छिट्टै प्रादेशीक लोकसेवा आयोगको व्यवस्था गरेर मात्रै कर्मचारी नियुक्ति गरिने बताएका हुन् ।
उनले करारमा कर्मचारी नियुक्ति गर्न नपाएर कुनै समस्या नभएको र प्राविधिक कर्मचारीको विषयमा भने करारमार्फत काम चलाउँदै जाने पनि बताए । मन्त्री पण्डितले ९५ प्रतिशत कर्मचारी खटाएको ठाउँमा पुगिसकेको पनि बताए ।
मन्त्री पण्डितले प्रदेशका मन्त्रालयका कर्मचारीहरु सरुवाको विषयमा आएको टिप्पणी र असहमतिको विषयमा आफू नलाग्ने बताए । उनले केन्द्र सरकारले प्रदेशसँग समन्वय गरेरै प्रशासन चलाउने भएकोले बेला–बेलामा आएका टुक्रे कुरालाई बोक्नु आवश्यक नरहेको पनि बताए ।
मन्त्री पण्डितले असार १ गतेदेखि ट्रेड युनियनका पदाधिकारी तथा अन्यलाई पनि काममा खटाएको बताए ।
सरकारले ट्रेड युनियन एक आधिकारिक ट्रेड युनियन रहनुपर्छ भन्ने प्रस्ताव अगाडि सारेको बताउँदै पण्डितले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेको र छिट्टै उक्त ऐन मन्त्रिपरिषद्मा लगिने बताए।