अफगानिस्तान, असार १२
अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ ।
सोमबार राति ८ बजे भएको यस आक्रमणमा परी अन्य तीन प्रहरी अधिकारी घाइते भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
स्थानीय समयाअनुसार चावकी जिल्लाको बबार ताङगइमा रहेको प्रहरी चौकीमा आतङ्ककारी समूहले आक्रमण गरेको प्रान्तीय सरकारका प्रवक्ता गनी मुसामिमले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यस पहाडी प्रान्तमा तालिबान र इस्लामिक स्टेट्स(आइएस) आतङ्ककारीको बलियो उपस्थिति रहेको छ ।
त्यसैले यस आक्रमणमा पनि तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ । आत्मघाती हमलाकारीको पनि निधन भएको छ ।
ती हमलाकारीको परिचय खुल्न नसकेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
सन् २०१५ को शुरुबाट अफगानिस्तानको सम्पूर्ण सुरक्षाको जिम्मा अफगान सुरक्षा अधिकारीले लिएपछि सुरक्षा अधिकारीको हताहत बढेको छ ।
सन् २०१४ को अन्त्यमा अफगानिस्तानमा युद्धरत अमेरिकी र नेटोआवद्ध सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै अफगानिस्तानबाट फर्किएका थिए ।
यहाँ बाँकी रहेका केही अमेरिकी र नेटोआवद्ध सैनिकले भने अफगान सुरक्षा अधिकारीलाई सल्लाह र तालिम दिनेकाम मात्र गर्ने गरेका छन् ।
अफगानिस्तानमा सरकारसँग युद्ध जारी राखेका तालिबान र अन्य आतङ्ककारी समूहले सरकारी र सुरक्षा अधिकारीलाई लक्ष्य बनाउदै बारम्बार आक्रमण गर्दै आएका छन् ।
रासस