विराटनगर,असार १४
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सत्ताधारी पार्टीले सरकार र प्रशासनलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाएका छन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशलाई कुनै पनि पार्टीले नियन्त्रणमा लिने कुरा मान्य नहुने बताए ।
नेता गच्छदारले मल्टी पार्टी सिस्टमको संसदीय प्रजातन्त्रमा बहुमत प्राप्त दलको सर्वोच्चता हुने र बहुमत प्राप्त दलले संविधानको परिधिभित्र रहेर शासन–प्रशासनको नेतृत्व गर्नुपर्ने बताए । उनले संसदबाट निर्माण भएको सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताउँदै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि कुनै पनि प्रकारको हस्तक्षेप मान्य नहुने बताए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले अहिलेको व्यवस्था कांग्रेस र कम्युनिष्टहरुले मिलेरै ल्याएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा परिस्कृत राजनीतिक व्यवस्था हुन नसक्ने धारणा राखे । वर्तमान राजनीतिक प्रणालीलाई संविधानसम्मत ढंगले संचालन गरिनुपर्ने बताउँदै उनले सरकारको नेतृत्व गरेको पार्टीले सम्पूर्ण निकायहरुलाई नियन्त्रणमा लिन नमिल्ने बताएका छन ।
नेता गच्छदारले नियमविपरीत काम गर्ने ठेकेदारलाई विधिअनुसार जिम्मेवार मन्त्रालयले कारबाही गर्नुपर्ने समेत बताए । गृह मन्त्रालय ठेकेदारलाई कारबाही गर्ने जिम्मेबार मन्त्रालय नभएको उनको भनाइ थियो । प्रधानमन्त्रीको चीन भ्रमणलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउदै नेता गच्छदारले भ्रमणको क्रममा भएका सहमतिलाई उपलब्धिमा परिर्वतन भएको हेर्न चाहेको बताए ।