विराटनगर,असार १४
नेपाल वायुसेवा निगमले विहीबार पहिलो वाईड बडी एयरबस विमान नेपाल भित्र्याएको छ । विहिबार नेपाल वायुसेवा निगमको पहिलो वाईड बडी एयरबस ए ३३० विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विमान अवरणपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाईडबडी एयर विमान नेपालमा भित्र्याउने कामबाट सिंगो मुलुक खुसी भएको प्रतिक्रिया दिए । उनले हवाई उडानको क्षेत्रलाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउन पनि नेपाल वायुसेवा निगमलाई सचेत गराए ।
कार्यक्रममा बोल्दै नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले वाईड बडी विमान नेपालमा भित्रयाउने कामबाट नेपालले हवाई उडानको क्षेत्रमा फड्को मारेको बताए । उनले अन्तराष्ट्रिय उडानबाट प्राप्त मुनाफाबाट नेपालको दुर्गम क्षेत्रमा पनि हवाई उडान विस्तार गर्ने योजना पनि अघि सारेका छन ।
निगमले दुईवटा वाईडबडी विमान खरिद गर्ने निर्णयअनुसार आज पहिलो जहाज भित्र्याएको हो । अन्नपूर्ण नाम दिइएको यो वाइडबडी विमान हाईफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद गरेको हो ।
दोस्रो वाइड बडी विमान पनि चाँडै ल्याउने निगमले जनाएको छ । नयाँ विमानमा १६ वटा बिजनेस श्रेणीका सहित २ सय ७४ वटा सिट रहेका छन । निगमले यो विमान खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषसँग २४ अर्ब ऋण लिएको थियो ।