२८ असार, काठमाडौं ।
कोभिडका कारण प्रभावित होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को ११ महीनामा १ खर्ब ८० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यो वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा लगानीको ४ दशमलव ४ प्रतिशत हो । यस अवधिमा बैंकहरूले क्षेत्रगत कर्जा अन्तर्गत ४० खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
चालू आवको जेठ मसान्तसम्ममा होटल क्षेत्रमा २७ ओटा वाणिज्य बैंकले मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो वाणिज्य बैंकको कुल कर्जा प्रवाहको ४ दशमलव ४३ प्रतिशत हो । यसैगरी १८ ओटा विकास बैंकले १५ अर्ब ४१ करोड ५० लाख र २० ओटा वित्त कम्पनीले ३ अर्ब ३४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार होटल तथा रेष्टुराँ शीर्षकमा वाणिज्य बैंकमध्ये प्रभु बैंकले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । सो बैंकले १४ अर्ब २७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । यो वाणिज्य बैंकले सो शीर्षकमा प्रवाह गरेको कुल कर्जाको ८ दशमलव ८४ प्रतिशत हो ।
होटल क्षेत्रमा दोस्रो बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकले ११ अर्ब ८४ करोड कर्जा यस क्षेत्रमा लगानी गरेको छ । यसपछि प्राइम कमर्शियल बैंकले १० अर्ब ७२ करोड, एनआईसी एशिया बैंकले ९ अर्ब ७३ करोड, ग्लोबल आईएमई बैंकले ९ अर्ब ५८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८ अर्ब ७५ करोड, नेपाल बैंकले ७ अर्ब १८ करोड र मेगा बैंकले ७ अर्ब १२ करोड कर्जा प्रवाह गरेका छन् ।
यसैगरी कुमारी बैंकले ६ अर्ब ९४ करोड, हिमालयन बैंकले ६ अर्ब ७२ करोड र सिद्धार्थ बैंकले ६ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन् । यसबाहेक एनएमबि, बैंक अफ काठमाडौं र नबिलले साढे रू. ५ अर्ब हाराहारीमा कर्जा लगानी गरेका छन् ।
नेपाल एसबिआई, लक्ष्मी र सानिमा बैंकले ४ अर्बदेखि ५ अर्बसम्म कर्जा प्रवाह गरेका छन् । यस्तै, कृषि विकास बैंक, माछापुच्छ , सेञ्चुरी, सनराइज, सिभिल र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले ३ अर्बदेखि ४ अर्बसम्म कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । साथै नेपाल बंगलादेश, सिटिजन्स, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे १ अर्बदेखि ३ अर्बसम्म कर्जा होटल व्यवसायमा प्रवाह गरेका छन् ।