मानसरोवरमा अलपत्र भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार

२० असार २०७५, बुधबार
Share this
743shares

काठमाडौँ, असार २०

Advertisement

सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिकूल मौसमका कारण उडान अवरोधका कारण उद्धारमा कठिनाइ भए पनि मंगलबारदेखि सबै संयन्त्र परिचालन गरेर प्रभावकारी रुपमा तीर्थयात्रीको उद्धार भइरहेको जनाएको हो ।

यही असार १७ र १८ गते उडान हुन नसकेका कारण तीर्थयात्रीलाई सम्बन्धित गन्तव्यमा ल्याउन कठिन भएको थियो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार ५५३ जना सिमिकोट र ३०० जना तीर्थयात्री हिल्सामा रहेका छन् । उनीहरुको आज पनि मौसमले साथ दिएकाले धमाधम उद्धार भइरहेको र भोलिसम्म सबै यात्रीको उद्धार गरिनेछ । भारतीय तीर्थ यात्रुको उद्धारमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा तारा, सिम्रिक र समिट एयरका हेलिकप्टर खाटिएको प्रवक्ता उपाध्यायले बताए ।

Advertisement

कैलाश मानसरोबरमा लेक लाग्ने समस्याका कारण तीनजना र बाटोमा फर्कने क्रममा चार गरी जम्मा सात जनाको मृत्यु भएको पनि पर्यटन मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक वर्ष कैलास मानसरोवरमा लेक लागेर भारतीय तीर्थयात्रीको मृत्यु हुने गरेको छ । गतवर्ष २१ जनाको मृत्युभएको थियो । प्रवक्ता उपाध्यायले अलपत्र परेका यात्रीको उद्धारका लागि मन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरिएको बताए ।

उनले उडान नहुँदा अलपत्र परेका भनिएका तीर्थयात्रीलाई होटलमा बस्न खान कुनै समस्या नरहेको पनि स्पष्ट पारे । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मंगलबार ट्वीट गर्दै १६० जना तीर्थयात्रीलाई हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको जानकारी दिएका थिए। दुई सय ५० जनालाई हिल्साबाट सिमिकोट ल्याइएको छ । मन्त्री अधिकारीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उल्लेख गरेर लेखेको उक्त ट्वीटमा तीर्थयात्रीको मंगलबार र बुधबार होलिकोप्टरमार्फत उद्धार हुने जानकारी दिएका थिए।

Advertisement

आज मन्त्रालयको समन्वयमा यात्रीको प्रभावकारी उद्धार भइरहेको छ । मौसमले पनि साथ दिएका कारण धेरै तीर्थयात्रीलाई आज सुरक्षित गन्तव्यमा पु¥याइने बताइएको छ । अबिरल वर्षाका कारण कैलाश मानसरोवरको यात्रामा गएका करिब एक हजार ६०० भारतीय तीर्थयात्री अलपत्र परेको जनाइएको छ ।

हुम्ला र हिल्साबाट तीर्थयात्री नेपालगञ्ज ल्याउने क्रम शुरु 

वर्षाका कारण हिमाली जिल्लामा उडान अवरुद्ध हुँदा हुम्लाको सिमिकोट विमानस्थल र नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका कैलाश मानसरोबरका भारतीय तीर्थ यात्रुलाई नेपालगञ्ज ल्याउने क्रम शुरु भएको छ । हिजोबाट जहाजको उडान नियमित भएपछि हुम्लाको सिमिकोट र हिल्सा क्षेत्रबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन थालिएको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए ।

‘हिजो तीनवटा उडान र आज बिहानैदेखि भइरहेको उडानबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउने क्रम जारी छ’—सूचना अधिकारी गौतमले भने । नेपाल—तिब्बत सीमा क्षेत्रमा रहेकालाई हेलिकप्टरबाट हुम्लासम्म र हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज ल्याउन थालिएको छ । हुम्लाबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन समिट, सीता र तारा एयरलाइन्सको दैनिक १०÷१२ उडान हुने र एक उडानमा १४ जनालाई ल्याउन सकिने सूचना अधिकरी गौतमले जानकारी गराए ।

हिजो सिमिकोटबाट करिब १५० भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज फर्काइएको र उनीहरुको बसोवासको उचित प्रबन्धसमेत मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । ‘भारतीय तीर्थयात्रुलाई केही अप्ठेरो परेको छ भने स्थानीय प्रशाशन, प्रहरी र आफ्नो ट्राभल एजेन्सीमा सम्पर्क राख्न पनि हामीले आग्रह गरेका छौं’—प्रजिअ केसीले भने।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी गौतमका अनुसार हुम्लामा करीब ५०० को भारतीय तीर्थयात्रु भएकोमा हिजो १५० र आज पनि त्यसकै हाराहारीमा ल्याइने बताइएको छ । नेपालगञ्ज आइसकेका भारतीय तीर्थयात्रुलाई नेपालगञ्जबाट काठमाडौँ उडान भर्न भने कुनै समस्या नभएको प्रजिअ केसीले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top