आत्मनिर्भर बन्दै मुक्तहलिया समुदायका महिला

२३ असार ७५, शनिबार

कञ्चनपुर, २३ असार

Advertisement

कञ्चनपुर भीमदत्तनगरपालिका– ६ सुकासालका मुक्तहलिया समुदायका महिला डकर्मी सम्बन्धी तालीम लिएपछि आत्मनिर्भर बन्दै गएका छन् । दैनिक मजदुरी गरेर रु चार सय कमाउँदै आएका महिला तालीम पश्चात रु पाँच सयदेखि रु सात सयसम्म कमाउन थालेका हुन् ।

साँझ बिहानको खानाको जोहो गर्न र बालबालिकाको विद्यालय तथा लताकपडा खर्च जुटाउनका लागि श्रीमान्ले भारतमा मजदुरी गर्दै आउनुभएको छ, पुष्पा कोलीले भनिन्, “त्यसबाट जीवका धान्न निकै मुस्किल छ ।” मुक्तहलिया महिलाको जीवनस्तरमाथि उठाउनका लागि सञ्चालित दुई महिने तालीममा सहभागी भएपछि ज्यालामा बढोत्तरी भएको उनले बताइन् । डकर्मीको कार्य गर्ने सीप नहुँदा मजदुरी गर्नुपर्ने विगतको बाध्यता रहेपनि हाल तालीम लिएपछि इँट्टा राख्ने, गाह्रो राख्ने र पिल्लर बाँध्ने कार्य गर्नसक्ने भएको उनले बताइन् ।

Advertisement

यस कार्यले ज्याला बढेपछि परिबारको खर्च चलाउन उनलाई सहज भएको छ । तालीमका सहभागी जानकी टमटाका श्रीमान् समेत भारतको नयाँदिल्लीमा रोजागरीमा छन्, घर बासका लागि मात्रै जग्गा भएका टमटाका परिवारको खर्च भारतकै कमाइले चल्दै आएको छ ।

श्रीमान्को कमाइले मात्रै चार जना परिवारको जीविका चलाउन मुस्किल हुन थालेपछि आफूले तालीम लिएपछि डकर्र्मीको कार्य गर्न थालेको बताउँदै जानकीले भनिन्, “श्रीमान्ले भारतबाट कमाउने पैसा भन्दा बढी डकर्मी पेशामा आवद्ध भएपछि कमाउन थालिएको छ ।” उनले भनिन्, “महिलाले घरको कामकाज मात्रै गर्नुपर्दछ भन्ने मान्यतालाई तोड्दै महिलाले पनि पुरुष सरह कार्य गर्न सक्छ, श्रीमान्कै कमाइमै भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिनुपर्दछ ।”

Advertisement

मजदुरी गर्दै आएका श्रीमान् भन्दा तालीमले गर्दा बढी पैसा ज्यालाबापत पाउन थालेको कलावती कामीले भनिन्, “श्रीमान्लाई समेत अहिले तालीम लिनका लागि दबाब दिन थालेको छु ।” घरको आर्थिक अवस्था कमजोर भएर सुना सार्किले बिचमै पढाइ छाडे पनि व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्नका लागि डकर्मीको तालीम लिएकी छिन्। प्रारम्भिक तालीम लिएर मात्रै पुग्दैन उनले भनिन्, “थप तालीम पाए प्रशिक्षक बनेर आर्थिक रुपमा विपन्न वर्गका समुदायका व्यक्तिलाई तालीम दिई दक्ष बनाउने इच्छा भए पनि त्यो पूरा हुन पाएको छैन, निःशुल्क तालीम दिने सहयोगी संस्थाको खोजीमा छु ।”

आइएलओको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गतमुक्त हलियाका २५ जना महिलाले छ महिना अघि डकर्मीका तालीम लिएका हुन् । तालीम लिएकामध्ये थोरै महिला मात्र डकर्मी पेशामा आवद्ध भएका छन् । मुक्तहलियाका १२५ महिलालाई स्वरोजगार बनाउनका लागि केशशृङ्गार, मोबाइल मर्मत, मोटरसाइल मर्मत, पेन्टिङ र डकर्मी लगायतका तालीम दिइएको मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारले बताए । तालीम लिएका अधिकांश स्वरोजगारमै आर्थिक रुपमा आत्मनिर्भर बन्न थालेको उनको भनाइ छ ।

अनुदानमा एक हजार बिरुवा 

शुक्लाफाँटा नगरपालिकामा फलफूल बगैंँचा स्थापनाका लागि ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ । नगरपालिकाको कृषि शाखाले अनुदानमा किसानलाई आँप, लिची, कटहर, मेवा, कागती, अनारलगायतका एक हजार बिरुवा वितरण गरेको हो ।

चार बिघा जग्गामा आधादर्जन बढी किसानलाई नमूना फलफूल बगँैंचा स्थापनाका लागि बिरुवा अनुदानमा उपलब्ध गराइएको कृषि शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए । “फलफूल उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई फलफूलका बिरुवा वितरण गरेका छौं” उनले भने ।

यसैगरी, शाखाले टिस्युकल्चर गरिएका पाँच हजार केराका बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । बिरुवा व्यावसायिक केराखेती गर्न उत्सुक १७ जना किसानलाई नौ जातका केराका विरुवा वितरण गरेको हो ।

केराका बिरुवा खरिदका लागि कृषि शाखाले रु एक लाख र किसानले रु एक लाख रकम लगानी गरेको कृषि शाखाका प्रमुख कुँवरले बताए । अनुदानमा उपलब्ध गराइएका केराका बिरुवा तीन बिघा पाँच कठ्ठा जग्गामा किसानले रोपेको उनले बताए ।

अनुदानमा उपलब्ध गराइएका केराले दश महिनाको अवधिमा रु १५ लाखभन्दा बढीको उत्पादन दिइने दाबी उनको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top