२७ भदौ, काठमाडौं ।
शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक नेपाल आउछन् । कोभिड–१९ महामारीको जोखिम नभइदिएको भए यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ हुनेथिए भने पदमार्ग र अन्य धार्मिकस्थलमा विदेशी खचाखच हुन्थे ।
राजधानीको ठमेललगायत देशका प्रमुख पर्यटकीय गन्तव्यमा विदेशी नागरिकको भीडभाड हुन्थ्यो तर कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको मुलुकको पर्यटन क्षेत्रमा अहिले पनि खासै उत्साह छैन ।
पर्यटन पूर्वाधारमा लगानी बढाएका व्यसायी निरास छन् । पर्यटनसँग जोडिएका सबैजसो व्यापार व्यवसाय चौपट छ । झिनो सङ्ख्यामा भए पनि पर्यटक पाहुनाको पर्खाइमा छन् व्यवसायी ।
कोभिडको दोस्रो लहरपछि नेपालको पर्यटन क्षेत्रमा सकारात्मक गतिविधि बढ्ने अपेक्षा थियो । अझै पनि तेस्रो लहरको जोखिम कायमै रहेकाले पर्यटक र पर्यटकीय गतिविधि बढ्ने अवस्था छैन । यतिखेर पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन् । महामारीकैबीच बुकिङ रद्द भएपछि व्यसायीमा थप त्रास बढेको छ । पर्यटकस्तरदेखि तारे होटलका बुकिङ धमाधम रद्द भइरहेको होटल सङ्घ नेपाल हानले जनाएको छ ।
अहिले राजधानी काठमाडौँमा निषेधाज्ञा हटेको छ । सबै होटल खुलेका छन् तर होटलमा ग्राहक छैनन् । तत्कालै विदेशी नेपाल आउने अवस्था पनि छैन ।
हानका प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकीय याममा धमाधम बुकिङ रद्द हुनुले व्यसायीलाई थप निरास तुल्याएको बताए । उनले भने, “होटल त खुलेका छन् पाहुना छैनन् । बुकिङ पनि रद्द भइरहेका छन् यसले होटल क्षेत्रलाई झनै निरास बनाएको छ । खर्बौंको लगानी जोखिममा छ ।”
सेप्टेम्बरको मध्यतिर पनि नेपाल आउनेखाले विदेशी नागरिक तत्काल आउने अवस्था छैन । विमानस्थल होटलमा अल्पाइन ग्रुपका जर्मन नागरिक करिब ५० जनासम्म हरेक वर्ष वार्षिकोत्सव मनाउन नेपाल आउने गरेका थिए । यो पटक उनीहरु आउने अवस्था छैन । बुकिङ रद्द गर्दैछन् । सगरमाथा आधार शिविरसम्म यात्रा गर्ने ती विदेशीले यो वर्ष यात्रा रद्द गरेका हुन् ।
हानका अनुसार अहिले आधाभन्दा बढी बुकिङ रद्द भइसकेका छन् । नेपाल आउने विदेशीले वर्षदिनदेखि छ महिनाअघि बुकिङ गर्छन् । पन्ध्र दिनअघिसम्म बुकिङ रद्द गर्दा शुल्क लाग्दैन ।
नेपालमा वर्षायाम सकिएलगत्तै विदेशी आउन थाल्छन् । विशेषगरी अक्टोबर, नोभेम्बर र डिसेम्भर महिनामा विदेशी पर्यटक बढी आउछन् । हानमा आबद्ध साना ठूला गरी करिब चार हजार होटल छन् ।
हानका उपाध्यक्ष सामान्य अवस्थामा यो याममा करिब ८० प्रतिशत होटल बुकिङ हुन्थ्यो । अहिले १० प्रतिशतभन्दा कम बुकिङ थियो । सन् २०२० मा पनि करिब १० प्रतिशत मात्रै बुकिङ थियो ।
नेपाल आउने विदेशी पर्यटकले अहिले सात दिन क्वारेन्टिन बस्नुपर्छ । खोपको मात्रा पूरा गरेर आए पनि क्वारेन्टिन बस्नुपर्ने बाध्यता र अनअराइभल भिसाको सुनिश्चितता नहुँदासम्म पर्यटक नबढ्ने व्यवसायीको भनाइ छ ।