३० भदाै, वीरगञ्ज ।
नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ। बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल ९० वटा कन्टेनर बोकेर सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
उनले भने, ‘हल्दियाबाट एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको छ । खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर छ।’
२००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन। सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको निर्देशक गजुरेल बताउँछन्।
योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ। अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ।
सम्झौतामा नेपाल आउने वस्तु जुनसुकै कार्गो रेलबाट आपूर्ति हुने छ। हाल भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन पाइन्थ्यो।
नेपालको रेल पनि सिधै कोलकत्ताको हल्दिया पोर्टसम्म जान सक्नेछन् र नेपाली रेलले नै सामान बोकेर सिधै नेपाल आउन सक्ने छन्। त्यस्तै कलकत्ताबाट विराटनगरसम्म सिधै रेलमा सामान आउन सक्नेछ भने अन्य प्रशासनिक विषयवस्तु पनि सहजीकरण गरिने भएको छ।

