३० भदाै, विराटनगर।
प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बनाएका हुन्।
मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, झापाका सांसद हीराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद बिस्तारका क्रममा सोलुखुम्बुका सांसद उत्तमकुमार वस्नेत उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, मोरङका सांसद ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै सांसद लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रिद्वयलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले शपथ गराए ।
भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भीम आचार्यले पहिलो पटक भदौ ११ गते दुई जना मन्त्रीहरुलाई मन्त्रिपरिषदमा सामेल गराएका थिए। त्यसकाे झण्डै २० दिन मुख्यमन्त्री आचार्यले दोश्रो पटक मन्त्रिपरिषद बिस्तार गरेका हुन् ।